काठमाडौँ । प्रदेश नं १ करिव ११ सयभन्दा बढी कर्मचारीले बिगत तीन महिना देखि तलव नपाएको गुनासो गरेका छन । संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिनादेखि तलब नपाएपछि दशै नै खल्लो हुन लागेको बताएका छन । उनीहरूले साउनदेखिको तलब नपाएको भन्दै तत्काल तलव उपलब्ध गराइदिन माग गरेका छन ।
संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र दसैँभत्ताका लागि रकम निकासा गर्न समस्या भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । अब आइतबार र सोमबार कर्मचारीले तलब र भत्ता नपाए दसैँ खल्लो हुने आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले बताए । तर, प्रदेशका प्रमुखसचिव केदार न्यौपानेले भने सबै कर्मचारीलाई तलब र भत्ता दिएरै पठाउने दाबी गरेका छन ।
न्यौपानेका अनुसार अन्यत्रबाट सरुवा भई प्रदेशमा हाजिर गरिरहेका सबै कर्मचारीलाई तलब र दसैँभत्ताको रकम भुक्तानी भइसकेको छ । तर, अन्य प्रदेशमा दरबन्दी भई प्रदेश १ मा खटाइएका कर्मचारीलाई भने तलब भुक्तानीमा समस्या भइरहेको उनले बताए । सचिव न्यौपानेले उनीहरूलाई पनि तलब र दसैैँ खर्च उपलब्ध गराउन पहल गरिरहेको बताए ।
विभिन्न ११ कार्यालयका कर्मचारीले तलब नपाएका हन् । सिँचाइ विकास डिभिजन, सहरी विकास तथा भवन निर्माण, प्रदेश संग्रहालय, भू तथा जलाधार व्यवस्थापन, महिला तथा बालबालिका, शिक्षा विकास निर्देशनालय, डिभिजन वन, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषिज्ञान केन्द्र र जिल्ला प्राविधिक कार्यालयका कर्मचारीले तलब पाएका छैनन् ।
त्यसो त प्रदेश सरकारले सबै जिल्लामा कार्यालय स्थापना गरिसकेको छैन । त्यसकारण संघीय सरकारले तलब निकासा गर्न समस्या भएको स्रोतको भनाइ छ । प्रदेशमातहतका कार्यालयमा महालेखापरीक्षकको कार्यालयले लेखा अधिकृत र लेखापाल पनि पठाएको छैन ।
कर्मचारीका अनुसार तलब निकासा गर्न सक्ने अवस्था नभएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रह्लादप्रसाद सापकोटा बिदा लिएर दसैँ मनाउन हिँडिसकेका छन ।
सो मन्त्रालयका एक कर्मचारीका अनुसार प्राविधिक जटिलताका कारण दसैँअगाडि नै तलब र भत्ता निकासी गर्न सकिने अवस्था छैन । उनले प्रदेश सरकारसँग रकम नभएको र संघीय सरकारले अहिलेसम्म तलब नपठाएकाले दसैँअघि भुक्तानी गर्ने अवस्था नभएको बताए ।





प्रतिक्रिया