देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुर महानगरले थ्री स्टार क्लबलाई ३२ लाख दिने

देशान्तर

काठमाडौं । ललितपुर महानगरपालीकाले रुस्लान थ्री स्टार क्लबलाई २८ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गत वर्ष सात वटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधि बापतको चार लाखका दरले २८ लाख क्लबलाई दिने निर्णय गरेको हो ।

यस्तै महानगरले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई पनि आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक ४ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी दिए । योसँगै थ्री स्टारले यो वर्षमात्र महानगरबाट ३२ लाख रुपैयाँ पाउने छ ।

त्यसैगरी जिल्लाका ‘बी’ डिभिजनका क्लबलाई वार्षिक ३ लाख र ‘सी’ डिभिजन क्लबलाई वार्षिक २ लाख उपलब्ध गराउने निर्णय महानगरले गरेको उनले जानकारी दिए ।  नगर परिषद्को बैठकले फुटबल विकासमा लागेका शीर्ष डिभिजनका क्लबलाई आर्थिक सहयोग गर्न प्रस्ताव गरेको थियो। सोही प्रस्तावलाई महानगरको बोर्ड बैठकले पारित गरेको हो ।

त्यसैगरी जिल्लाका ‘ए’ डिभिजन क्लबहरुले राष्ट्रियस्तरको कुनै पनि प्रतियोगिता जिते उपाधिपिच्छे थप ४ लाख महानगरले उपलब्ध गराउनेछ । यसअघि काठमाडौं महानगरले जिल्लाका ६ वटा ए डिभिजन क्लबलाई वार्षिक १० लाख दिने यसअघि नै घोषणा गरिसकेको छ ।