काठमाडौँ । बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबार महेन्द्रनगरमा प्रदर्शन गरिएको छ । महिला अधिकारकर्मी र पीडित परिवारले चाँडो अपराधी पत्ता लगाउन माग गर्दै प्रदर्शन गरि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
आइतबार बसेको सर्वपक्षीय बैठकले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम महेन्द्रनगरको मदनचोकबाट निकालिएको जुलुस बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि जुलुससहितको प्रर्दशन समापन गरिएको थियो । हत्या भएको तीन महिना भन्दा बढी भइसक्दा पनि अपराधी पत्ता लाग्न नसक्दा प्रहरी प्रशासनप्रति जनविश्वास गुम्दै गएको भन्दै चाँडो भन्दा चाँडो अपराधी पत्ता लगाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
तत्कालीन प्रहरी प्रमुख एसपी दील्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज जगदीश भट्टलाई बर्खास्त गरिएपनि उनीहरुमाथि कानुनी कारबाही चलाइनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
निर्मलाका हत्यारा पत्ता नलागेसम्म दबाबमूलक जुलुश, प्रदर्शन र ज्ञापन पत्र बुझाउने लगायतका कार्यक्रम जारी रहने नागरिक संघर्ष समितिकि संयोजक मिना भण्डारीले बताइन् । प्रदर्शनमा निर्मलाका आमा, बुवा र भाइबहिनी पनि सहभागी थिए । उनीहरुले नै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।





प्रतिक्रिया