काठमाडौँ । गत महाधिवेशन अवधिभर बिहान, बेलुकाको खाना, खाजा र आवाससहित सबै खर्च पार्टीले व्यहोर्दा आर्थिक भार धेरै परेपछि कांग्रेसले मंसिरमा हुने महासमिति बैठकमा एक छाक मात्र खाना दिने भएको छ ।
खर्च कटौती गर्ने अभियानस्वरूप महासमिति बैठकमा आवास नदिने र बिहानको एक छाक मात्र खाना खुवाउने निर्णय कांग्रेसले गरेको हो । स्थानीय तयारी समितिका सदस्य भक्तपुर जिल्लाका सभापति दुर्लभ थापाले महासमिति बैठकमा बिहानको खाना र दिउँसोको खाजा मात्र पार्टीले खुवाउने र बेलुकाको खाना र बस्ने व्यवस्था महासमिति सदस्य आफैँले मिलाउनुपर्ने जानकारी दिए ।
पार्टीले यसअघि विधान मस्यौदा सुझाब लिँदा एक छाक मात्र खुवाएर अभ्यास गरिसकेको छ । यो अभ्यास व्यावहारिक हुने भएकाले महासमिति बैठकमा पनि हामीले बिहानको मात्र खाना खुवाउने निर्णय गरेका हौँ,’ थापाले भने, ‘यसले महासमितिका लागि खर्च कटौती पनि गर्छ । महाधिवेशनमा पनि यस्तै अभ्यासले बाटो खुलाउँछ ।’
महासमितिमा देशभरबाट झन्डै एक हजार चार सय प्रतिनिधि सहभागी हुनेछन् । ५ देखि ९ मंसिरसम्म भृकुटीमण्डपमा हुने महासमिति बैठक कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो कार्यक्रम हो । महासमितिले नेतृत्व चयनबाहेकका महाधिवेशनले गर्ने सम्पूर्ण काम गर्न सक्छ ।
महासमिति तयारीका लागि काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँको नेतृत्वमा बसेको स्थानीय तयारी समितिको समितिको बैठकले चारवटा उपसभापति गठन गरेको छ ।
भक्तपुर सचिव उद्धव सिलवालको नेतृत्वमा भोजन व्यवस्थापन समिति, काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा प्रचार–प्रसार समिति, ललितपुरका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ ।
त्यस्तै, स्थानीय व्यवस्थापन समितिको सचिवालयको संयोजकमा भक्तपुरका सचिव निशान ढुंगेललाई चयन गरिएको छ । यी सबै समितिमा संयोजक रहेकाबाहेक अर्को दुई जिल्लाका सोही पदका पदाधिकारीहरूलाई उपसंयोजक तोकिएको छ । समितिहरूले अब आवश्यक तयारीलाई जिल्लाहरूको संयोजनका लागि अघि बढाउनेछन् ।





प्रतिक्रिया