देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : धावनमार्ग कालोपत्रे सुुरु

देशान्तर

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग कालोपत्रे गर्ने काम सुरु भएको छ । सन् २०१९ अगस्टभित्र विमानस्थल निर्माणको सबै काम पूरा गर्ने गरी मंगलबारबाट ३ हजार मिटर ९३ किलोमिटर लामो तथा ६० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गर्न थालिएको हो ।

कालोपत्रे सुरुआती कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहभागी भएका छन् । सरकारले रनवे पिचको काम ६ महिना भित्र पूरा गर्न आयोजनालाई निर्देशन दिएको जानकारी मन्त्री रबिन्द्र अधिकारीले दिए । धावनमार्ग कालोपत्रे पूरा गर्न ६ महिना जति लाग्ने विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ । यो विमानस्थलमा ठूलो (वाइड बडी) आकारका चारथान जहाज पार्किङ एरिया, अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, कन्ट्रोल टावरलगायत पूर्वाधार हुनेछन् ।

विमानस्थल निर्माण गर्न २०७१ कात्तिक २७ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपबीच सम्झौता भएको थियो । हाल सञ्चालनमा रहेको गौतमबुद्ध आन्तरिक विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय बनाउन लागिएको हो ।

हाल अधिकतम ७२ सिट क्षमातयुक्त जहाजमात्र उडान-अवतरण गर्न मिल्ने यो विमानस्थल अन्तर्राष्ट्रिय बनेपछि अधिकतम ३ सय सिटसम्मका ‘बोइङ ७७७’, ‘एयरबस ३३०’ सिरिजका जहाज आउन-जान सक्छन् ।  विमानस्थल निर्माण गर्न ६ अर्ब २५ करोड रुपैयाँहाराहारी खर्च हुने प्राधिकरणको अनुमान छ । तर, जग्गा अधिग्रहण गर्न भने झन्डै २४ अर्ब रुपैयाँ खर्च लाग्ने देखिएको छ । विमानस्थल निर्माणका लागि आवश्यक रकम एसियाली विकास बैंक ९एडीबी० सँग ऋण तथा अनुदानमार्फत लिइएको छ ।

कूल सवा ६ अर्ब रुपैयाँ लागतमध्ये ५८ दशमलव ५ प्रतिशत एडीबीले लगानी गरेको छ । त्यसमध्ये ४० प्रतिशत ऋण र साढे १८ प्रतिशत अनुदान हो । कूल लगानीको साढे ३० प्रतिशत भने एडीबीको सक्रियतामा ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टले जुटाएको छ भने नेपाल सरकारले बाँकी ११ प्रतिशतमात्र लगानी गरेको छ । २०७१ माघ १ गते विमानस्थल स्तरोन्नतिको काम सुरु भएको थियो ।