देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

७६ प्रतिशतले घट्यो विदेशी लगानी

देशान्तर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिना १ अर्ब २३ करोड रुपैयाँ मात्र प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ७६ प्रतिशतले कम हो ।

अघिल्लो वर्ष पहिलो दुई महिनामा ५ अर्ब १० करोड रुपैयाँ लगानी भित्रिएको थियो । स्थिर सरकार बनेपछि राजनीतिक अस्थिरता अन्त्य भएको र विदेशी लगानी प्रोत्साहन हुने खालका नीति बनेकाले ठूलो मात्रमा विदेशी लगानी भित्रने अनुमान गरिएको थियो । तर, चालु वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको भन्दा धेरै कम मात्र विदेशी लगानी आएको छ ।

गत साउनमा २९ करोड ५७ लाख रुपैयाँ र भदौमा ९३ करोड ६४ लाख रुपैयाँ गरी दुई महिनामा १ अर्ब २३ करोड २१ लाख रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको समयमा ठूलो मात्रामा लगानी घट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष १७ अर्ब ५१ करोड ५१ लाख रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो २९.६८ प्रतिशतले बढेको हो ।

पछिल्ला वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत, पर्यटन र सिमेन्ट उद्योगमा आएको छ । यसले ती क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टि हुन्छ ।

प्रसस्त सम्भावना हुँदाहुँदै पनि अधिकांश जलस्रोत उपयोग हुन नसकेको, पर्यटन विकासका लागि पर्याप्त अवसर रहेको तथा सिमेन्ट उत्पादनको सम्भावना अत्यधिक देखिएकाले यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परेर पनि अहिले लगानी घटिरहेको विज्ञहरू बताउँछन ।