काठमाडौं । नेपाली कांग्रेसले दसैं, तिहार तथा छठ पर्व र नेपाल सम्वत ११३९ को अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय सानेपामा भएको चियापानमा विभिन्न राजनीतिक दलका नेताहरु, सरकारका मन्त्रीहरु, सांसदहरु, संबैधानिक निकायका प्रमुखहरुको उपस्थीति रहेको थियो ।
यस्तै नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, संञ्चार गृहहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुका संघ–संस्थाका प्रमुखहरु लगायतका कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता थियो ।
आगन्तुकहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालालगायतले स्वागत गरेका थिए ।
२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कांग्रेसले २०३५ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन जलपान समारोह गरेर शुभकामना आदान–प्रदान गर्दै आएको छ ।
चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।





प्रतिक्रिया