देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

११ वर्षमा २० हजारको मृत्यु

देशान्तर

काठमाडौं । नेपालको यातायात सुरक्षित छैन, हवाई होस् अथवा सडक । भौगोलिक जटिलता, प्राविधिक गडबडी र मानवीय त्रुटिले हवाई दुर्घटना हुँदा अमूल्य ज्यान गइरहेको छ । तर, हवाई दुर्घटना हुँदा कम्तीमा छानबिन समिति बन्छ । यद्यपि, त्यसको सिफारिस कार्यान्वयन हुँदैन । तर, सडक दुर्घटनामा त बिरलै छानबिन समिति बन्छन् र त्यसका प्रतिवेदन अलपत्र पर्छन् ।

 

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा ११ असोज ०७३ मा एक समिति बनेको थियो । सरकारले यो समितिलाई पूर्वगृहमन्त्री माधव घिमिरेको दुर्घटनाको कारण पत्ता लगाउन, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक क्षेत्रमा सुरक्षित सवारी आवागमन र देशभर दुर्घटना न्यूनीकरणका उपायको सुझाब ल्याउन कार्यादेश दिएको थियो ।

 

समितिले नौबिसे–मुग्लिन र मुग्लिन–नारायणगढ सडकमा सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रतिवेदन बुझाएको थियो ।०७१ र ७२ मा मात्रै यी सडकखण्डमा एक सय २८ दुर्घटना भएको र एक सय एकजनाको ज्यान गएको प्रतिवेदनको तथ्यांक छ । पूर्वगृहमन्त्री माधव घिमिरेको मुग्लिन–कुरिनटार खण्डमा दुर्घटनामा परी ज्यान गएको थियो । अहिले मुग्लिन–नारायणगढ सडक भने स्तरोन्नति भइसकेको छ ।

 

राना समितिले ०६८र६९ देखि मापसे गरेर सवारी चलाउनेविरुद्ध राष्ट्रव्यापी अभियान चलाएपछि दुर्घटनामा तुलनात्मक कमी आए पनि ०७१ र ७२–०७३ र ७४ मा दुर्घटना ९.५५ ले वृद्धि भएको प्रतिवेदन तयार पारेको थियो । सवारीसाधनको संख्यामा वृद्धि र ग्रामीण सडक विस्तारले दुर्घटना बढेको ठहर गरेको थियो ।

 

समितिले चालक, पैदलयात्री र सवारीसाधनमा यात्रारत यात्रीमा सडक प्रयोगसम्बन्धी ऐन–नियमको जानकारीको अभाव, जानकारी भए पनि उल्लंघन गर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको जनाएको छ ।

 

पछिल्ला ११ वर्षमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा धेरैको ज्यान गएको छ  । यो अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन  । आर्थिक वर्ष ०६४ र ६५ देखि ०७४ र ७५ सम्म भएका ९१ हजार ८ सय ५७ सवारी दुर्घटनामा २० हजार १ सय ७७ व्यक्तिले ज्यान गुमाएका हुन्  ।

 

११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत ५ व्यक्तिको ज्यान जाने गरेको देखाउँछ  । औसतमा वर्षमा एक हजार आठ सयभन्दा धेरैको ज्यान जान्छ  । यो संख्या प्राकृतिक विपद्बाट मृत्यु हुने संख्याभन्दा झन्डै दुईगुणा बढी हो  । तथ्यांकअनुसार प्राकृतिक विपद्मा परी वर्षमा औसत नौ सयको ज्यान जाने गरेको छ  ।

 

‘सडक दुर्घटना मानव निर्मित संयन्त्रबाट हुने हो । यसबाट ज्यान गुमाउनेको संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेको भन्दा धेरै देखिन्छ । यो दुःखद पक्ष हो,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए ।

 

पाँच वर्षको तथ्यांकअनुसार मुलुकभर भएकामध्ये ९२ प्रतिशत सवारी दुर्घटनामा चालकको लापरबाही देखिएको छ  । ०७० र ७१ देखि ०७४ र ७५ सम्मको अवधिमा भएका कुल ४६ हजार सात सय ९२ दुर्घटनामा ४३ हजार एक सय दुर्घटना चालकको लापरबाहीले भएका हन् ।

यो कुल दुर्घटनाको ९२ दशमलव १२ प्रतिशत हो । मादक पदार्थ सेवन, तीव्र गति, ओभरटेकजस्ता चालकका गल्तीले यी दुर्घटना भएका हुन् ।

 

यस्तै, यात्रुको गल्तीले पनि केही दुर्घटना हुने गरेका छन् । यस्तो दुर्घटनाको दर ३५ छ  । यान्त्रिक गडबडीले ३५, ओभरलोडका कारण १५ र अन्य कारणले १५ दुर्घटना हुने गरेको तथ्यांकले देखाएको छ  । अदक्ष चालकका कारण धेरै दुर्घटना हुने गरेको छ  ।

जब कि चालक अनुमतिपत्र (लाइसेन्स) वितरण भने सरकारअन्तर्गतकै यात्रायात व्यवस्था विभागले गर्ने गर्छ  । आर्थिक अनियमितता गरेर चालकलाई लाइसेन्स थमाएका धेरै घटना सार्वजनिक पनि भएका छन  ।

यातायातका यस्ता कर्मचारीलाई अख्तियारको टोलीले ठाउँको ठाउँ समातेको पनि छ  । चालक गाडी चलाउन असक्षम हुनु भनेको उसलाई लाइसेन्स दिने निकाय पनि असक्षम हुनु हो  ।

प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी भन्छन्, ‘अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको देखिन्छ । यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले केही नयाँ योजना कार्यान्वयनमा ल्याएको छ ।

सामुदायिक–साझेदारी प्रहरी अभियान यसैको एउटा पक्ष हो । अभियान चलेपछि दुर्घटना न्यूनीकरण हुनेमा हामी विश्वस्त छौँ ।’ आजको नयाँपत्रिकामा खबर छ ।