काठमाडौँ । चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन हो । आज बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका व्रतालुले यो पर्व सुरु गरेको छ ।
आज वर्तालुहरुले अनुकुलता हेरी घरमै वा नजिकैको जलाशय किनारमा नुहाइ चोखिएपछि शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् । यो विधिलाई स्थानीय भाषामा ‘नहा खा’ वा ‘नहाए खाए’ भनिन्छ । चार दिनसम्म मनाइने यस पूर्णतया शाकाहारी पर्वको अन्तिम दुई दिन घरदेखि घाटसम्म रमझम हुन्छ ।
पूर्णरुपले उपवास बसेका ब्रतालुले दोस्रो दिन सोमबार साँझ लिपपोत गरिएको एक कोठामा केराको पात ओछयाएर त्यसमाथि प्रसादको रुपमा खिर, पुरी र केरा राखी मौन पुजा गर्छन् । स्थानीयले यसलाई खरना भन्छन् ।
मधेसतिर यो पर्वकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा यी चढावा तयार पारिन्छ । यो पुजा सम्पन्न भएपछि ब्रतालुले आफू पनि प्रसाद खान्छन्। परिवारजन, छरछिमेक एवं पाहुनालाई समेत बाँडछन ।
लोक आस्थाको यो पर्वको तेस्रो दिन मंगलबार बिहानदेखि गहुँ एवं चामलको शुद्ध पिठोबाट क्रमश चर्चित मिष्ठान ठेकुवा, पुरी एवं भुसुवा बनाउँछन् । यो पर्वको महत्वपूर्ण दिन हो जसको ब्रतालुलगायत सबैले व्यग्र प्रतिक्षा गरिरहेका हुन्छन् ।
प्रसाद तयार पार्ने कार्यमा मुख्य उपासकलाई परिवारजन र छरछिमेकले सहयोग गरिरहेका हुन्छन । मुख्यतस् घरका पुरुष सदस्य यतिखेर घाट सिंगार्न एवं बजारबाट ताजा फलफुल र तरकारी ल्याउनमा व्यस्त हुन्छन् ।
प्रसाद एवं पुजन सामग्री तयार भएपछि घरको आँगनलाई अपराह्न लिपपोत गरी एवं जल छर्केर चोख्याइन्छ । नांग्लो र ढाकीलाई फिजाएर त्यसभित्र ठेकुवा, भुसुवा, पुरी खाजा, गेडागुडी, मौसमी फलफुल एवं तरकारी राखिन्छ । ब्रतालु एवं परिवारजनले यी सबै सामग्रीको बन्दोबस्ती पहिलेदेखि गरिसकेका हुन्छन् ।
घरमै एकपटक पुजा गरेपछि ती सबै सामग्रीलाई ढाकीमा राखेर बाँधि माथितिर एउटा दियो बालिन्छ । ब्रतालुको अगुवाईमा परिवारजन ढाकी एवं अन्य विविध पुजन सामग्री बोकी छठको लोक गीत गाउँदै आफूलाई पायक पर्ने पोखरी वा नदी किनार (घाट) तिर लाग्छन्। परिवारजन, स्थानीयवासी एवं सहयोगीले केराको बोट, दियो एवं बत्तीले घाटलाई झकिझकाउ पारेका हुन्छन् ।
पूर्व निर्धा्रित पुजन थलोमा पुगेपछि ती सम्पूर्ण पुजन सामग्रीलाई पुनस् फिजाएर राखिन्छ। नांग्लो, ढाकी र वरिपरि दियो तथा धूप बालिन्छ । त्यसपछि मुख्य ब्रतालु अस्ताइरहेको सूर्यतर्फ मुख फर्काइ जलाशयमा उभिन्छन् ।
सहयोगी एवं परिवारजनले उनको हातमा पालैपालो नांग्लोसहितको पुजन सामग्री राख्दै त्यसमाथिबाट दूधरजलको अर्घय दिन्छन । यो विधिको समापनपछि कतिपय ब्रतालु एवं परिवारजन घाटमै बस्छन् भने कतिपय घर फर्कन्छन् । यसलाई सझिया (साँझको ) घाट वा सझिया अर्घय भनिन्छ । यो साँझ घरदेखि घाटसम्म दिपावली मनाइन्छ । घाटमा कुस्ती, लोक नृत्य, नाटक मञ्चन एवं विविध साँस्कृतिक कार्यक्रमको आयोजन हुन्छ ।
चौंथो तथा अन्तिम दिन बुधबार बिहान ब्रतालुसहित सम्पूर्ण परिवार जलाशय किनारमा पुजन सामग्रीसहित भेला हुन्छन । साँझकै विधिझैं बिहान उदाइरहेको सूर्यलाई सम्पूर्ण पुजन सामग्रीसहित अर्घय दिएपछि यो महापर्वको समापन हुन्छ । यसलाई भोरका घाट वा भोरका अर्घय भनिन्छ ।
यसपछि छठको लोक कथाको वाचन हुन्छ। समापनको अवसरमा समेत मुख्य ब्रतालु महिला र परिवारका अन्य महिला सदस्यले गीत गाउँदै एक अर्काको निधारमा सिन्दुरको टिका लाउँछन् ।
उल्लेखनीय के छ भने यो पर्व आउनु एक महिना अगाडीदेखि तराई–मधेसवासीले घरपसल जहाँ भएपनि एकाबिहानदेखि छठको गीत घन्काउन थाल्छन् । छठ पुजाको सुरुदेखि अन्तसम्म हरेक विधिकालागि छुट्टाछुट्टै गीत हुन्छन्। साँझ एवं बिहानको पुजाको बेला गाइने गीत पनि फरक हुन्छ ।
ती गीतहरुमा सम्पूर्ण पुजन विधि बाहेक महिलाको पीडा, सँघर्ष एवं सामाजिक भेदभावका भावना समेटिएका हुन्छन । समग्रमा भन्दा पुजारी नचाहिने यो महापर्वमा छठको लोक गीत नै मार्गदर्शक मन्त्र हो । यी गीतहरु स्वतस् पुरानो पुस्ताबाट नयाँमा हस्तान्तरण हुँदै गएका हुन्छन् ।
ब्रतालु एवं परिवारजनले पर्व समापनपछि बिहान घाटमा उपस्थिति दर्शनार्थीलाई गच्छेअनुरुपको प्रसाद बाड्दै अर्को वर्ष फेरी आउने बाचाकासाथ घर फर्कन्छन् । साँझ र बिहानको यो पुजा हेर्न, अर्घय दिन तथा प्रसाद लिनलाई सबै जाती, धर्म, दल, वर्ग एवं समुदायकाको घाटमा भव्य उपस्थित हुन्छ ।
३६ घण्टे निर्जल उपवासपछि घर फर्कि ब्रतालुले सादा भोजन ग्रहण गरेर उपवास तोडछन्। आफन्तजन, छरछिमेक, मित्रजन र शुभेच्छुकलाई ठेकुवारभुसुवा खानलाई बोलाउँछन् वा घरैसम्म पनि पुरयाउँछन ।





प्रतिक्रिया