काठमाडौँ । सूर्यको उपासना गरी मनाइने महान् पर्व छठको मुख्य दिन आज काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाइँदै छ । छठको तेस्रो तथा मुख्य दिन अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएर यो पर्व मनाउने गरिन्छ ।
छठका लागि तराईसहित विभिन्न जिल्लामा झकिझकाउसँग सिंगारिएका नदी तथा तलाउ किनारामा जम्मा भएका भक्तजनले श्रद्धापूर्वक सूर्य र षष्ठी माताको उपासना गर्ने गर्दछन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ मनाउने गरिन्छ ।
जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा छठ मनाउन ब्रतालुको घुईंचो लाग्ने गरेको छ । वीरगन्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझमका साथ पर्व मनाइँदै छ ।
काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा धूमधामका साथ छठ मनाइँदै छ । काठमाडौंमा केही वर्ष यता निकै धूमधामका साथ छठ मनाउन थालिएको छ ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले लिएकी छिन् ।
यस्तै छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेमा आफू विश्वस्त रहेको बताएका छन ।
उपराष्ट्रपतिले छठ पर्वले समृद्ध नेपाल निर्माणको अभियानमा हातमा हात मिलाएर अघि बढ्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गरेका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन ।
यस्तै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वका अवसरमा सम्पूर्ण तराईवासीमा सुख शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।





प्रतिक्रिया