देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुस तेस्रो सातादेखि एक सिङ्गे गैंडा गणना गरिँदै,पछिल्लो तथ्यांकअनुसार देशभर ६४५ गैंडा रहेको अनुमान

देशान्तर

काठमाडौ । सरकारले संरक्षित सूचीमा राखेको एक सिङ्गे गैंडाको वास्तविक संख्या गणना गर्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी पुस तेस्रो साताबाट ‘गैंडा गणना’ सुरु गर्ने जानकारी दिएको छ ।

विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गैंडा गणनाका लागि आवश्यक खर्च जोहो गर्ने तयारी भइरहेको छ र त्यसपछि गणना परियोजना सञ्चालन गरिनेछ । आउने पुस तेस्रो साताबाट माघ तेस्रो साताभित्र एक सिङ्गे गैंडाको यकिन संख्या पत्ता लगाउने उद्देश्यले गणना सुरु गगरएको महानिर्देशक खड्काले बताए । उनले मुलुकमा रहेका राष्ट्रिय निकुञ्जहरूमा गैंडाको बासस्थान क्षमताबारे पनि केन्द्रित भएको बताए ।

विभागका अनुसार पछिल्लो पटक चार वर्षअघि एक सिङ्गे गैंडा गणना गरिएको थियो । त्यसबेला नेपालमा ६ सय ४५ वटा गैंडा रहेको पत्ता लागेको थियो । तीमध्ये ६ सय ५ वटा चितवन राष्ट्रिय निकुञ्जमा फेला परेका थिए भने बाँकी ४० वटा बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भेटिएका थिए ।