देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अमरगढी बस दुर्घटनामा परि मृत्यु भएका १८ जना मध्ये सातको सनाखत

देशान्तर

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोला भन्ने ठाउँमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोलामा भएको दुर्घटनामा २६ जना घाइते भएका छन् । डडेल्धुराको उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा बेलुकी पौने ६ बजेतिर बस दुर्घटनामा परेको हो ।

डोटीको शिखर नगरपालिका १२ मा रहेको पिसजोन एकेडेमीको से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा डोटी दिपायल सिलगढी नगरपालिकाकी ३५ वर्षीया शशी बिक, शिखर नगरपालिका–११ की २५ वर्षीया गोमा भाट जोरा, सोही ठाउँका ४० वर्षीय कैलाश रावल, ४० वर्षीय योगेन्द्र रावल, १६ वर्षीय रोहित बलायर, नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, २० वर्षीय तिलक खाती, १७ वर्षीय टेक धामी रहेका छन् ।

त्यसैगरी गन्यमधुरा गाउँपालिका–३ की १८ वर्षीया माया रावल तथा गोदावरी नगरपालिका–१० का २३ वर्षीय पुरन कठायतको सनाखत भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अन्यको पहिचान गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका १४ जनालाई कैलालीस्थित सेती अञ्चल अस्पताल र तीन जनालाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने अन्य ९ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

दार्चुलामा मिनिबस दुर्घटना
दार्चुलामा आज बिहान मिनिबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाउने कार्य भइरहेको दार्चुलाका डीएसपी नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले दुर्घटनामा नाम नखुलेका एकजना भारतीय नागरिकको मृत्यु भएको जानकारी दिनुभयो ।