देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तस्करलाई दुवै प्रहरीको सहयोग

देशान्तर

बीरगन्ज । पर्सा जिल्लाको विभिन्न नाकाबाट यतिबेला व्यापक रूपमा तस्करीको लाइन खुलाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच तस्करहरूबाट महिनावारी रूपमा कस्को बढी आउने होडबाजी चलेको छ ।

हुन त जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक रेवती ढकाल इन्चार्ज छन् । तर थाना चौकीमा कसलाई पठाउने, त्यहाँको दैनिक प्रशासन हेर्ने, कसलाई समात्ने, कसलाई छोड्ने सबै कार्यकारी जिम्मेदारी क्राइम ब्रान्चका इन्स्पेक्टर राजेश दत्तले लिएका छन् । स्रोतका अनुसार राजेश दत्तले प्रत्येक थाना चौकीका इन्चार्जसँग महिनावारी असुल्ने गरेका छन् ।

प्रहरी निरीक्षक दत्तले प्रहरी हबलदार श्यामसुन्दर साह, प्रहरी जवान सुनील सिंह, सञ्जय जयसवाल, राजु गुप्ता, अनिल यादव, फिरोज मिया, सिन्धुली दरबन्दी भएका प्रहरी हबलदार दिलीप सिंहलाई स्पेसल टास्क फोर्समा राखेका छन् भने पहिला टाइगर टोलीको नामले चिनिने यो टोली पैसा उठाएर बदनाम भएपछि हाल नाम परिवर्तन गरी क्विक रेस्पोन्स टिम बनाइएको छ ।

आफ्नो जागिरे जीवनमा मुस्किलले एक वर्ष मात्र बर्दी लगाएका, प्रायः सादा पोसाकमा रहेर हाकिमहरूको उठौतीको जिम्मा लिने गरेका निरीक्षक दत्तको गत वैशाख महिनामा बढुवा भएपछि पर्सामा सरुवा भएको हो । प्रहरी निरीक्षक दत्त सोझै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालप्रति जवाफदेही भएकोले खनाल मुनिका अधिकारीहरू र जिल्ला प्रहरी कार्यालय पर्साका इन्चार्ज प्रहरी उपरीक्षक रेवती ढकालसमेत दत्तसँग थर्कमान रहेको बताइन्छ ।

जिप्रका पर्सामा राजेश दत्तको कोठा, गाडी र निवास सबै वातानुकूलित छ । इप्रका जानकी टोलाका प्रनानि अनिरुद्ध भुजेल, इप्रका भिस्वाका प्रनानी गोकुल बलायर, इर्नवा प्रहरी चौकी मूल भन्सार नाकाका प्रनानि नहकुलराज गौतम, बजार छपकैया प्रहरी चौकीका इन्चार्ज प्रनानि नरेन्द्र चन्द, भकुवा नाकाका इन्चार्ज असई लोकनाराण श्रेष्ठलाई खुलेआम तस्करीको लाइन दिएर पैसा उठाउने छुट दिइएको स्रोतले बतायो ।

तस्करी नियन्त्रणका लागि वीरगन्जमा अड्डा जमाएर बसेका भन्सार राजस्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले पनि वीरगन्ज भन्सारको मूलनाका र भन्सार पछाडिबाट तस्करहरूलाई खुलेआम लाइन दिने गरेका छन् । संगठित तस्करीलाई बढावा दिँदै आएका उनले दैनिक जीवीकोपार्जनको लागि मुख्य नाकाबाट पोके तस्करी गर्ने महिलालाई भने सताउने गरेका छन् । उनीहरूको सामान खोसेर हप्ता दस दिनसम्म जम्मा गरेर एकमुष्ठ पक्राउ गरेको देखाई पत्रकार, सर्वसाधारण र आफ्नो संगठनसमेतको आँखामा छारो हाल्दै आएका डीएसपी खड्काको कार्यशैलीविरुद्ध महिला पोके तस्कहरूले प्रतिरोध गरेपछि बुधबार हूलदंगा समेत भएको थियो । बु्धबार डीएसपी खड्काको निर्देशनमा सशस्त्र प्रहरी हबलदार महादेव पन्त र सशस्त्र प्रहरी सहायक हबलदार केशवराज पन्तले महिला पोके तस्करहरूसँग अभद्र व्यवहार गरेपछि उनीहरूले त्यसको प्रतिरोध गरेका थिए ।

पोके तस्कहरूले सामान मूल नाकाबाट नै ल्याउने गरेकाले त्यहाँ खटेका सशस्त्र र नेपाल प्रहरीका जवानहरूलाई पैसा दिएर नै सामान भित्र्याउने गर्दछन् । तर सशस्त्रका डीएसपी तिलकबहादुर खड्काले ठूला तस्करहरूलाई पोस्ने र सानालाई मास्ने नीति अख्तियार गरेपछि बुधबारको घटना भएको हो । डीएसपी खड्काले बजारका पैसा असुल्न सशस्त्र प्रहरी जवान सुदर्शन बैठालाई परिचालित गरेका छन् भने सशस्त्र प्रनानि सुदेश राई, प्रकाश ठकुरी र नरराना मगरलाई सीमा नाकाबाट माल भित्र्याउँदा रेखदेखको जिम्मा दिएका छन् ।

सशस्त्र डीएसपीको द्रव्य मोह ठूलै देखिन्छ । तस्करी लाइनको महिना नर्मदै उनले अर्को महिनाको रकमको लागि ताकेता गर्ने गरेको तस्करहरू बताउँछन् ।