काठमाडौँ । सरकारले मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिन नसकेको रिसमा बीपी कोइरालाको नाममा रहेको सम्पत्ति माथि धावा बोलेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालको सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर महानगरपालिका वडा नं ७ मा रहेको ७५ बिघा जमिनमा बीपी मेमोरियल क्यान्सर अस्पतालको जमिन सरकारी निर्णय गराई नै अस्पतालबाट खोस्ने प्रयास गरेका छन् ।
अस्पतालको भोगचलनमा रहेको जमिन खोस्ने भरतपुर महानगरपालिकाको यो प्रयासमा सरकारले सहजीकरणसहित निर्णय गर्ने अन्तिम तयारी गरेको छ । महानगरपालिकाको प्रस्तावअनुसार सरकारले अस्पतालको जमिन महानगरपालिकालाई हस्तान्तरण गर्न लागेको हो
। भरतपुर महानगरपालिकाले अस्पतालको जमिनमा फनपार्क र सिटी सेन्टर खोल्ने योजना बनाएको छ । भरतपुरमा विवादास्पद निर्णयहरू गराई विवादमा परेकी पुष्पकमल दाहाल पुत्रीको योजनाअनुसार जमिन खोस्ने प्रयास भएको स्थानीय सरोकारवालाहरूको भनाइ छ । उनीहरूले यो प्रकरणमा सरकारी प्रयासको विरोध गरेका छन् ।
अस्पतालले स्वदेश तथा विदेशबाट आएका हजारौं बिरामीहरूलाई स्वास्थ्य सेवा उपलव्ध गराउँदै आइरहेको छ । सो अस्पतालमा हाल करिब ३०० शैया रहेको र निकट भविष्यमै एक हजार शैया बनाई चाँडै नै क्यान्सर एकेडेमी एण्ड रिसर्च सेन्टरमा परिणत गर्न खोजिएको छ । रिसर्च सेन्टरका लागि जमिन अपुग भई नवलपरासी जिल्लामा थप करिब २० बिघा जमिन भोगचलन गरिरहेको अस्पतालका सञ्चालक समितिका पूर्वसदस्य दिनेश कोइरालाले देशान्तरलाई बताए ।
अस्पताललाई नै जग्गा अपुग भइरहेको अवस्थामा उल्टै त्यहाँको जग्गा हडपेर दुरुपयोग गर्ने कार्यमा केपी ओली नेतृत्वको सरकारले सहयोग गर्ने निर्णय गर्न लागेको प्रयासप्रति नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल र छिमेकी मुलुक भारतबाट समेत उपचार गराउन आउने सयौं बिरामीहरूलाई स्वास्थ्य सेवा उपलव्ध गराउन अस्पताललाई सबै किसिमका पूर्वाधार बनाई, सुविधा सम्पन्न र अत्याधुनिक अस्पताल बनाउनु पर्नेमा अस्पतालले भोगचलन गर्दै आएको जग्गा अतिक्रमण गरी अस्पतालकै हाताभित्र बिरामीहरूलाई नै असर पार्ने गरी नयाँ संरचना बनाउने उद्देश्यले भइरहेका गतिविधि कुनै पनि हालतमा नगर्न नेपाल सरकार र सम्बन्धित सबै निकायहरूलाई कांग्रेसले सजग एवं सचेत गराएको छ ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृतिमा भरतपुरमा क्यान्सर अस्पताल खोलिएको थियो । तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले चीन भ्रमणमा जाँदा चीन सरकारसँग क्यान्सर रोगबाटै निधन भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृतिमा अस्पताल स्थापनाको लागि सहयोग गर्न आग्रह गरेका थिए ।
सोही आग्रहपछि चिनियाँ सरकारले भरतपुरमा अस्पताल स्थापना गर्न सहयोग गरेको थियो । बागवानीको रूपमा रहँदै आएको सो स्थानलाई पछि आवासीय अस्पतालको रूपमा विकसित गरिएको थियो ।
कांग्रेसले बीपी कोइरालाको स्मृतिमा बनाइएको अस्पतालको अस्तित्व नियोजित रूपमा मेटाउने प्रयास नगर्न सचेत गराउँदै अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयम् हुने चेतावनी दिएको छ ।
कांग्रेसले विज्ञप्ति निकाल्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेरै कांग्रेस सभापति शेरबहादुर देउवाले अस्पतालको परिसरमा फनपार्कलगायत सिटी सेन्टर खोल्ने योजना लिएर आएको महानगरलाई अस्पतालको जमिन हस्तान्तरण नगर्न भनेका थिए । प्रधानमन्त्री ओलीले यसबारेमा स्पष्ट कुरा नगरेको कांग्रेसको भनाइ छ ।
भरतपुर महानगरको प्रस्तावअनुसार सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराई अस्पतालको जमिन महानगरलाई हस्तान्तरण गर्न तयारी गरेको छ । तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म यसका विषयमा कुनै धारणा सार्वजनिक गरेका छैनन् ।





प्रतिक्रिया