देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गृहमन्त्रीको निर्देशनमा निर्मलाको पोस्टर च्यातिएको होः प्रहरी

देशान्तर

काठमाडौँ । गृहमन्त्री रामबाहादुर थापाको निर्देशनमा देशभरी निर्मलाको पोस्टर च्यातिएको प्रहरी अधिकारीहरुले जनाएका छन । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप आलोचित भएको छ । निर्मलाको न्यायका लागि दबाब दिँदै आएको समूहले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर अभियान सुरु गरेको थियो ।

एसिया प्यासिफिक समिटमा माइतीघर भिभिआइपी सवारी रुटमा परेकाले त्यहाँ आन्दोलन गर्न नदिनू र भएका पोस्टर सवै च्यात्नु भन्ने निर्देशन गृहमन्त्रालयबाट आएको प्रहरी अधिकारीहरुले बताएका छन । अहिले गृहमन्त्री थापा र प्रधानमन्त्री ओली पोस्टर च्यात्ने आलोचनाबाट मुक्तहुन त्यहाँ सम्लग्न प्रहरी जवानहरुलाई कारवाही गर्ने भएपछि उनिहरुले गोप्य रुपमा निर्देशनको रहस्य खोलेका हुन ।

त्यही दिन प्रदर्शनमा आएको समूहका १२ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यहीबीचमा एक प्रहरीले पोस्टर पनि च्यातिदिएको र उसको अहिले खोजि भइरहेको परिसरले जनाएको छ । घटनाको छानबिन गरी निर्मलाको पोस्टर च्यात्ने प्रहरीलाई कारबाही गर्न पनि अहिले गृहमन्त्रीले नै निर्देशन दिएका छन । निर्मलाको पोस्टर च्यात्न प्रहरीलाई कुनै निर्देशन थिएन भन्दै थापाले उनिहरुलाई कारवाही नगरे हामीलाई समस्याहुने भएकाले विभागिय कारवाही गर्नु भन्ने निर्देशन पनि गएको छ ।

परिसरले पोस्टर च्यात्ने प्रहरीको पहिचान भएपनि अहिले को हो भनेर छानबिन भइरहेको र पहिचान हुन नसकेको जानकारी गृहमा पठाएको छ । आफैले खटाएका प्रहरीको तस्बिर सार्वजनिक हुँदा पनि पहिचान गर्न नसक्ने प्रहरीबाट बलात्कार र हत्याजस्तो जघन्य अपराधका दोषी पत्ता लगाउने विषय थप रहस्यमा परिणत भएको छ । एकजना प्रहरीले आपूmखुसी पोस्टर च्यातेको भनिए पनि पोस्टर च्यात्दै गरेका प्रहरीको फोटो देशका विभिन्न ठाउँबाट आइरहेका छन ।

नेपाल प्रहरीले एसिया प्यासिफिक समिटका पाहुनाको सुरक्षालाई ध्यान दिएर माइतीघरमा प्रदर्शनकारीमाथि बल प्रयोग भएको र त्यहीवेला पोस्टर च्यातिएको प्रतिक्रिया दिएको छ । तर, समिटसँग सरोकार नै नभएको पोखरामा पनि पोस्टर च्यातिएका छन । पोखरा बैदामका डिएसपी नवीन कार्कीले पोस्टर च्यातेर कच्याककुचुक पारेको तस्बिर जताततै सार्वजनिक भएको छ । तर, कार्कीले आफूखुसी पोस्टर नच्यातेको बताएका छन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर रानाले पनि सकेसम्म पोस्टर टाँस्न नदिन निर्देशन दिएको स्विकार गर्दै माथिको निर्देशन अनुसार गरेको बताएका छन । उनले पोस्टर टाँस्न नदिन भनेका थियौँ, तर सिपाहीले उल्टो बुझेछन । टाँसिसकेपछि च्यातिदिएछन,’ उनले भने । तर, रानाले भनेजस्तै सिपाही मात्रै होइन, डिएसपी नै पोस्टर च्यात्न खटिएका थिए । त्यसमाथि विरोध गर्न, नारा लगाउन र पोस्टर टाँस्न पाउनु जनताको लोकतान्त्रिक र संवैधानिक अधिकार हो । गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पनि विरोध गर्न र पोस्टर टाँस्न कानुनले नै अधिकार दिएको छ, त्यसलाई निषेध गर्ने कुनै नीति छैन ।

सरकारले निकै महत्व दिएको एसिया प्यासिफिक समिट सकिएको छ । पाहुना पनि आफ्ना घर फर्किएका छन । तर, समिटसँग कुनै सम्बन्ध नरहेको दाङमा प्रहरीले पोस्टर टाँस्ने युवामाथि बल प्रयोग गरेको छ । घोराहीको तुलसीपुर चोकमा जम्मा भएका युवाहरूले निर्मलाको तस्बिर अंकित पोस्टर टाँस्न खोजेका थिए । तर, प्रहरीले सीधै हस्तक्षेप गरेपछि धेरैबेर तनाव भएको थियो । आक्रोशित युवाहरूले गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।

घन्टौँको नाराबाजीपछि युवाहरूले पोस्टर टाँस्न प्रयास गरेका थिए । तर, हुत्तिँदै आएका प्रहरीले पोस्टर टाँस्न अवरोध गरेका थिए । टाँसिएका पोस्टर पनि च्यातेर फालिएका थिए । यसरी पोस्टरविरुद्ध प्रहरी देशव्यापी रूपमा कारबाहीमा उत्रिए पनि न्यायको माग गर्दै भइरहेको प्रदर्शन साम्य भएको छैन ।

निर्मलाको न्यायका लागि लागिरहेका अभियन्ता तथा सर्वसाधारणले सरकारलाई दबाब दिन सवारीसाधन तथा झोलामा निर्मलाको पोस्टर टाँस्ने अभियान सुरु गरेका छन् । उनीहरूले सोमबार राजधानीमा सार्वजनिक यातायातका साधनमा पोस्टर टाँसे । निजी सवारीसाधन तथा झोलामा समेत निर्मलाको पोस्टर टाँसेर न्यायका लागि दबाब बढाएका छन ।