काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत ललितपुरको पाटनस्थित दरबार क्षेत्रमा पुगेर आज विदेशी चित्रकारले जलरङको प्रयोग गरी यहाँको पुरातात्विक महत्वका चित्र आर्ट पेपर(चित्राधार) मा उतारेका छन् ।
न्यूजील्याण्डकी जिनेट वाङले दरबारको चित्र उतार्दै भन्नुभयो, “निकै लामो अवधिसम्म चित्र बनाउन सकिने ठाउँ छ, यस्तो महत्वपूर्ण र ऐतिहासिक स्थानमा आएर चित्र बनाउन पाएँ खुशी छु ।” उहाँले विभिन्न कोणबाट तस्वीर कैद गरेकाले स्वदेश फर्किएर पनि नेपालको चित्र कोर्ने प्रतिबद्धता जनाउनुभयो ।
चित्रमार्फत नेपालको कला पर्यटन विकासमा सहयोग पुग्ने विश्वास विदेशी चित्रकारले लिएका छन् । उनीहरुले नेपाल प्राकृतिक रुपमा विभिन्नता रहेको भन्दै कला पर्यटनमा समेत नेपाल अग्रणी रहेको प्रतिक्रिया दिएका छन् ।
अन्तर्राष्ट्रिय जलरङ समाजका विश्व अध्यक्ष अतानुर डोगानले पनि सोही क्षेत्रलाई चित्रका उतार्दै नेपालका प्राकृतिक दृष्य लोभलाग्दा रहेको प्रतिक्रिया दिनुभयो । मङ्गोलियाका मुख्कु गुगुले मानिसका मुहार चित्रसहित दरवार स्क्वायरको तस्वीर चित्रमा दुरुस्त पार्नुभयो ।
भारतका अमित कपुर, बङ्गलादेशका कौशर हुसेन, अमेरिकाकी मिनी भेलेरो, न्यूजिल्याण्डका जिनेट वाङ र चीनका जाओ सिनलगायत दरबार स्क्वायरमा आज भएको चित्रकला कार्यशालामा सहभागी भए । उनीहरुलाई नेपाली चित्रकारले पनि साथ दिएका छन् । दरबारको चित्र उतार्दै गरेका नेपाली चित्रकार सुरेश स्याङतान काठमाडौँ र लुम्बिनीकीका विभिन्न दृष्यले चित्रकारलाई आकर्षित गराएको बताउनुहुन्छ ।
नेपालीसहित झण्डै ४० जनाको सहभागितामा आज यहाँ भएको स्थलगत चित्रकला कार्यशालामा चित्रकारले दरबार स्क्वायर क्षेत्रको ‘ल्याण्डस्केप’ उतारे । उनीहरुले चित्र उतार्दै गर्दा यहाँ घुन्न आएका पर्यटक र स्थानीयवासीले चाखपूर्वक अवलोकन गरेका थिए ।
अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा शुरु ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव तथा वृहत चित्रकला प्रदर्शनी’ अन्तर्गत लुम्बिनीमा कार्यक्रम सकेर फसिर्कएका देश र विदेशका ४० बढी चित्रकार आज ललितपुरको दरवार स्क्वायर पुगेका हुन् । यहाँ मौलिक कलाशैलीका आकर्षक मन्दिर तथा विभिन्न बुटा कुँदेर बनाइएको दरबार छ । भूकम्पले भत्किएका मन्दिरको पुनःनिर्माणको क्रम समेत चलिरहेको छ ।
चित्रको माध्यामबाट नेपालको कला पर्यटन विकास गर्ने मुख्य लक्ष्य महोत्सवको रहेको बताउँदै अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका महासचिव दीपेन्द्रमान बनेपालीले सन् २०२०को नेपाल भ्रमण वर्षलाई समेत यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आएका विदेशी चित्रकारले नेपालका महत्वपूर्ण क्षेत्रका चित्र अआफ्नो देशमा पुगेर प्रदर्शन गर्ने र देखाउने भएकाले कलामार्फत पर्यटन विकास हुने अपेक्षा छ ।
काठमाडौँको नेपाल कला परिषद्मा यही १७ गतेदेखि ३८ देशका २७० चित्र प्रदर्शन गरिएको छ । आइतबारसम्म चल्ने चित्रकला कार्यशाला अन्तर्गत यसअघि चित्रकारले लुीम्बनी पुगेर स्थलगत चित्रकला कार्यशालामा सहभागी भएका थिए । लुम्बिनीको शान्तिभूमि (गौतम बुद्धको जन्मथलो)ले चित्रकारलाई प्रभावित बनाएको थियो ।
उनीहरुले मायादेवी मन्दिरलगायत विभिन्न क्षेत्रका झण्डै १०० चित्र कोरेका छन् । सो चित्र मध्ये उत्कृष्ट १५ चित्र छनोट गरी महोत्सव अवसरमा चित्रकारलाई सम्मान र ट्रफी प्रदान गरिने महोत्सव संयोजक एनवी गुरुङ बताउनुहुन्छ ।





प्रतिक्रिया