देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजधानीको वीर अस्पतालमा सशस्त्र द्वन्द्वका घाइतेको आन्दोलन जारी

देशान्तर

काठमाडौँ । जातीय विभेद हट्छ र गरिबी हुँदैन भन्ने आश्वासनले बर्दियाका लीलाचन्द कामी माओवादी जनयुद्धमा होमिएका थिए । युद्धकै क्रममा उनी प्रहरीबाट पक्राउमा परे । प्रहरीको निर्मम कुटाइले गम्भीर घाइते भए ।

टाउकोमा गहिरो चोट लागेका कारण चारवटा नसाबाट रगत सञ्चालन हुँदैन । औषधिले मात्रै ती नसाबाट रक्तसञ्चालन गराउन सम्भव छ । उनी भन्छन, ‘खुट्टा पनि घाइते छन । खोच्याएर हिँड्छु । ढाडभरि घाउ छन ।’ सरकारले ‘जनयुद्ध घाइते’ परिचयपत्र नदिएका कारण उनको उपचार हुन नसकिरहेको उनले सुनाए ।

भएको थोरै जग्गाजमिन बेचेर उनले उपचार गरे तर मासिक १५ हजारको औषधि किन्ने खर्च नहुँदा उनी अलपत्र छन । घाइते भएपछि परिवार पाल्न नसकेको उनले सुनाए । उनी भन्छन, ‘छोरालाई पढाउन सकिनँ, १८ वर्षको छोराले ज्यालारमजदुरी गरेर हामीलाई पालिरहेको छ ।’ माओवादीले सत्ता प्राप्तिका लागि आफूलाई भर्याङ मात्र बनाएको उनी बताउँछन । सरकारले आफूनिकटका घाइतेलाई मात्रै उपचार गरिदिएको उनको आरोप छ ।

सशस्त्र द्वन्द्वमै घाइते भएका ३८ वर्षीय नरवीर दमाई पनि आमरण अनशनमा छन । उपचारका क्रममा घरजग्गा र सम्पत्ति सबै सकिएपछि अहिले उनी घाउ लिएर बाँच्न बाध्य छन । उनको टाउको, आँखा र छातीमा बमका छर्रा छन । उनी भन्छन, उपचार गरिदेऊ भनेर नेताका घर र मन्त्रालय धाएर थाकिसकँे, हारिसकेँ ।’

उनीहरूजस्तै माओवादी जनयुद्धताका अपांगता भएका लडाकुहरू सरकारसमक्ष विभिन्न माग राखी आन्दोलनमा उत्रिएका छन । सात लडाकु गत एक सातादेखि आमरण अनशन बसिरहेका छन । माइतीघर मण्डलामा अनशनमा बसिरहेका बेला सोमबार राति प्रहरीले जबरजस्ती वीर अस्पताल पुर्याएको हो ।

प्रहरी प्रशासनबाट जबरजस्ती भएकोमा उनीहरू आक्रोशित भएका छन । हाल उनीहरूलाई वीर अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । औषधि खान, स्लाइन लिन मानिरहेका छैनन । माग पूरा नभएसम्म उपचार नगराउने उनीहरूको अडान छ ।

घाइते पदमराज परियार भन्छन, ‘लोकतन्त्र ल्याउन हामी मर्न तयार भएर लड्यौं, अहिले हामी अपांग हुँदा हामीलाई लडाउनेले बेवास्ता गरिरहेका छन ।’ घाइते परिवार र राज्यबाट बहिष्कारमा पर्दा उनीहरूको अवस्था नाजुक भएको उनले बताए ।

द्वन्द्वका कारण दुवै आँखा गुमाएका, मानसिक सन्तुलन गुमाएका रशारीरिक रूपमा अंगभंग भएकाले राम्रो उपचार पाएका छैनन । सरकारी अस्पतालमा उनीहरूले निस्शुल्क सेवा पाउने भनिए तापनि अधिकांशको परिचयपत्र नहुँदा सेवाबाट वञ्चित छन । उपचार पाइहाले पनि औषधिमा बढी खर्च हुन्छ । खर्च अभावकै कारण कति घाइते उपचार नै नगरी बसिरहेका छन ।

शरीरमा बमका छर्रा बोकेर हिँडिरहेका छन । केही घाइते आजीवन औषधि खानुपर्ने खालका छन । राजधानीबाट जिल्लासम्म औषधि समयमा पुग्दैन । जसले गर्दा कति बिरामी नियमित औषधि र जाँच गर्न नपाउँदा ज्यान गुमाइरहेका छन ।

माओवादी सेनाका घाइते अपांग लडाकु पुनस्स्थापना तथा हेरचाह निर्देशिकाअनुसार उनीहरूको पुनस्स्थापना केन्द्रमा निस्शुल्क खान, बस्न पाउने अनि स्वास्थ्य उपचार पाउने भने पनि यो प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन । केन्द्रमा बस्न नचाहनेलाई जीवन निर्वाह भत्ता दिने उल्लेख गरे पनि यो व्यावहारिकबन्न सकेको छैन । उपचार र औषधिमा सहुलियत हुने भने पनि परिचयपत्रबन्न नसक्दा उनीहरू यो सेवाबाट वञ्चित छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घाइतेका ठूला शल्यक्रियाका लागि बजेट पर्याप्त छैन । सरकारी अस्पतालले भने यस्ता बिरामीको निस्शुल्क उपचार कोषमा राज्यले रकम नभरेको भन्दै उपचार गर्न मान्दैनन ।

समयमा औषधि सेवन गर्न पाउनुपर्ने, हरेक घाइतेले एउटा कुरुवा पाउनुपर्ने, जीवन निर्वाह भत्ता पाउनुपर्ने, घाइतेका बालबच्चाले निस्शुल्क उच्चशिक्षा पाउनुपर्ने र रोजगारीको व्यवस्था हुनुपर्ने र निस्शुल्क रूपमा नियमित स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने आन्दोलनरत पीडितहरूको माग छ । माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने उनीहरूले बताएका छन ।