देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सञ्चार माध्यममाथि सरकारका मन्त्रीहरुको यस्तो आक्रोश

देशान्तर

काठमाडौं । सरकारका मन्त्रीहरुले आफूहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै सञ्चार माध्यमको चर्को आलोचना गरेका छन् । इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् ।

उनीहरुले मन्त्रीका लागि दिइने सुविधाअनुसार सरकारको नियमभित्र बसेर मात्रै आफूहरुले सुविधा लिएको भन्दै उनीहरुले अनर्गल प्रचारबाजीमा नआउन समग्र सञ्चारमाध्यमलाई आग्रह समेत गरेका छन ।

धुमबराहीमा आज बसेको नेकपाको स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आफूले विद्युतीय सवारी साधन चलाउने भएकाले इन्धनबापतको सेवा नलिएको दावी गरे । उनले मन्त्रीका बारे अनर्गल प्रचारबाजीमा नलाग्न सञ्चारजगतलाई आग्रह पनि गरेका छन ।
बैठकमा सहभागी मन्त्रीहरुले पनि आफूहरुले इन्धनबापतको दोहोरो सुविधा नलिएको धारणा राखेको भन्दै उनले सञ्चार माध्यममा आएको समाचारमा सत्यता नभएको दावी गरेका हुन ।

त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले पनि आफूले इन्धनबापतको सुविधा नलिएको दावी गर्दे मन्त्रालयमा आएर बुझ्न चुनौती दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको, स्वकीय सचिवलाई गैरकानुनी रुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भएपछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गर्ने र उहाँकै नेतृत्वको मन्त्रीमण्डलमा सहभागी मन्त्रीहरुले दोहोरो सुविधा लिएर राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै मन्त्रीहरुको चौतर्फी आलोचना भएको छ ।