काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको सरकारको पालामा स्थापना भएको नेपाल वायुसेवा निगमलाई वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको ओली सरकारले बन्दै गराएर मुठ्ठीभर हवाईमाफियालाई जिम्मा लगाउन अग्रसर भएको आशंका पुष्टी हुँदै गएको छ ।
निगमको व्यवस्थापन हेर्ने गरी ओली सरकारले पठाएका कार्यकारी अध्यक्ष मदन खरेलले श्वेतपत्रमार्फत निगमको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको विवरण सार्वजनिक गरेर निगमलाई थप जहाज किन्न र अन्य आवश्यक चालु खर्च बैंकबाट लिन पनि नसक्ने अवस्थामा पु¥याएका छन् ।
यो नाजुक अवस्थालाई देखाएर मन्त्रालय, अर्थमन्त्री र प्रधानमन्त्रीको सोर्स फोर्स लगाएर २० अर्ब रुपैया चालु पूँजी लिने उनको योजना पनि तुहिएको छ । यसरी निगमको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती गुम्न गएको छ ।
कार्यकारी अध्यक्ष खरेलले सार्वजनिक गरेको श्वेतपत्रले निगमको ६० बर्षको इतिहासमा एकैसाथ थपिएका जोडा बाईड बडीका जहाजलाई पनि अनावश्यक भार जस्तो प्रस्तुत गरेकोले सत्तारुढ नेकपा निकट केही हवाई माफिया र व्यापारीहरु ती जहाजलाई कि बिक्री गर्ने की भाडामा लगाउने प्रस्ताव लिएर पर्यटन मन्त्री र प्रधानमन्त्रीको निवासमा म्याराथुन दौडमा लागेका छन् ।
अन्तर्राष्ट्रिय उडानमा रहेका एअरबसका ३२०–२०० सेरिजका न्यारो बडीका जहाजलाई पनि नियोजित रुपमा ग्राउण्डेड गर्न यो गिरोह लागेको देखिएको छ । यो गिरोहले निगमको वर्तमान कार्यकारी अध्यक्षलाई समेत रिंगाएको पाइएको छ ।
निगमको अन्तर्राष्ट्रिय उडानमा एअरबसका ३३० सेरिजका नयाँ वाईड बडी दुई जहाजको अतिरिक्त ३२०–२०० सेरिजका एअरबसकै न्यारो बडीका जोडा जहाज र बोइङ ७५७ को एक जहाज रहेका छन् ।
वाईड बडीका जहाजको इन्जिन र बडीको मर्मत सभारको वारेन्टी पिरियड बाँकी रहेको र बोईड.७५७ को पनि इन्जिन र बडी दुवैको मर्मत संभारको केन्द्र चयन भैसकेकोले यी जहाजहरुको उडानमा कुनै समस्या देखिदैन । तर एअरबस कै ३२०—२०० सेरिजका न्यारो बडीका जहाजको ईन्जिन र बडीको मर्मतमा समस्या देखिएको छ । यी दुई थान जहाजमा लाग्ने चार थान इन्जिनको मर्मत संभारका लागि अहिलेसम्म मर्मत संभार केन्द्र (एमआरओ) चयन भएको छैन् । न त निगमसँग चारथान ईन्जिनका लागि जगेडा ईन्जिन नै छ ।
दुवै जहाजका ईन्जिनहरुको वारेन्टी पिरियड गत वर्ष नै समाप्त भैसकेको छ । यसैले यी चार थान इन्जिन जुनसुकै बेलामा पनि विग्रन सक्ने जोखिम छ । बिग्रिई हालेमा मर्मतसंभार केन्द्रको अभावमा तुरुन्त मर्मत हुन सक्ने अवस्था रहदैन । लामो समय जहाज ग्राउण्डेड गर्नुपर्ने अवस्था हुन्छ ।
यही जोखिमलाई दृष्टिगत गरी आफू कार्यकारी प्रमुख भएका बेलामा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले ईन्जिन मर्मत संभारका लागि अन्तर्राष्ट्रिय बोलपत्र मागेर सोको मूल्यांकन गराईसकेका थिए । यसरी घोषणा हुने अवस्थामा पुगेको टेण्डर प्रकृयालाई सुगतले सुरु गरेको भन्दै कार्यकारी अध्यक्ष खरेलले रद्द गर्न ठाडो तोक ओदश दिएपछि निगममा नयाँ विवादको सिर्जना भएको छ ।
निगमको ईन्जिनियरिङ विभागले दिएको जानकारी अनुसार कार्यकारी अध्यक्ष खरेलले टेण्डर मूल्यांकन भएर अन्तिम चरणमा पुगेको एअरबस ३२०–२०० सेरिजका न्यारो बडीको ईन्जिनको मर्मतसंभारको टेण्डरलाई रद्द गरी पुन टेण्डर गर्न दुई हप्ता पहिले लिखित रुपमै ठाडो आदेश दिएका थिए ।
निगमका यी सेरिजका विमानहरुमा जगेडा ईन्जिन पनि नभएर उच्च जोखिममा चलेको हुनाले ईन्जिनियरिड. विभागका पदाधिकारीहरु पुन टेण्डरमा जाने पक्षमा छैनन । पुन टेण्डरमा जाँदा ४५ दिनको प्रस्ताव पेश गर्ने र मूल्यांकन तथा नेगोसियन गर्न लाग्ने समयलाई गणना गर्दा ३ देखि ४ महिनाको समय लाग्ने देखिन्छ । यो बीचमा ईन्जिनमा खराबी आएमा त्यसको जिम्मेवारीको भागीदार बन्नुपर्ने भयले प्राविधिकहरु यसमा मौन बसेका छन् ।
निगमले गत मे महिनामा निगमको दुई थान न्यारो बडीमा लाग्ने चार थान भी २७०० सेरिजका ईन्जिनहरु मर्मत संभार गर्न ग्लोबल टेण्डर गरेर प्राप्त प्रस्तावहरुको मूल्यांकन गरेको थियो । तर ईन्जिन मर्मत ठेक्का आफ्ना मान्छेलाई दिलाएर कमिसन खान नेकपाका केही नेताहरुले दबाव दिएपछि पुन टेण्डरको प्रक्रियामा लैजान खोजिएको यो प्रकरणको निगमभित्रैबाट विरोध भएको छ ।
निगममा दुई थान न्यारो बडीका जहाजमा जडित इन्जिनहरुको वारेन्टी पिरियड गत बर्ष नै सकिएको र नयाँ मर्मत संभार केन्द्र पनि चयन नगरिएकोले गत बर्ष निगमको सगरमाथा नामक न्यारो बडीको जहाज पुस र माघ महिना दिल्लीको एअरपोर्टमा थन्केर बस्यो ।
जहाज भूमिस्थ भएको निहुँमा अपर्झट मर्मत केन्द्र खोजेर न्यूजिल्याण्डमा झण्डै १५ करोड रुपैया खर्च गरेर मर्मत गरेर ल्याएको इन्जिन दोस्रो पटक दिल्ली र तेस्रो पटक दोहामा विग्रन पुग्यो । यसरी झण्डै तीन महिना जति जहाज थन्किदा सो जहाजले गर्ने करोडौ आम्दानीबाट निगम बञ्चित भएको थियो भने अन्तर्राष्ट्रिय उडान प्रभावित भएर निगमको सेवाको विश्वसनियतामा पनि प्रश्न उठेको थियो ।
निगमका न्यारो बडीका जहाजहरु अहिले उच्च जोखिममा चलिरहेका छन् । तिनमा जडान भएका ४ थान ईन्जिनमध्ये कुनै पनि ईन्जिन कुनै पनि बेला विग्रन सक्छन् । संचालक समितिको निर्णय अनुसार टेण्डर गरेर मूल्यांकन भैसकेको प्रस्ताव रद्द गर्ने कार्यकारी अध्यक्षको एकल निर्णयले सञ्चालक समितिका अन्य सदस्यहरु पनि रुष्ट भएका छन् । बोर्डको सहमति बेगर निगमका महत्वपूर्ण विभागहरुमा कार्यकारी अध्यक्षले एकल ढंगले विभागीय प्रमुख र कर्मचारीहरु हेराफेरी गरेकोमा पनि निगमका सञ्चालक र अन्य कर्मचारीहरु असन्तुष्ट रहेको बताइन्छ ।
जहाजहरुलाई यस्तो जोखिमपूर्ण अवस्थामा उडाएर राखेर ईन्जिन मर्मतसंभारको विषयलाई पुनः टेण्डरमा लैजाने खेलले नेकपा एमाले निगमलाई बन्द गराएर केही मुठ्ठीभर हवाईमाफिया र व्यवसायीहरुको पक्षपोषण त गरिरहेको छैन भन्ने प्रश्न उठेको छ ।
नेकपाको नेतृत्वमा रहेको वर्तमान सरकारका प्रमुख तथा नेकपाका अध्यक्ष के पी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको केही हवाई माफिया र व्यवासायीहरुसँग अत्यन्तै निकट र चाहिनेभन्दा बढी नै हिमचिम देखिएको छ । कतिपय त दुवै जनाको टुपी तिनै बदनाम माफिया र व्यवसायीहरुले रिंगाउने दावी समेत गर्दछन् ।





प्रतिक्रिया