देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नर्भिकमा अब कलेजो प्रत्यारोपण सेवा

देशान्तर

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने भएको छ ।
हाल तीव्र तयारी भइरहेको तथा यहि पुस १९, २० र २१ गते कलेजो प्रत्यारोपणसम्बन्धी विशेषज्ञ ओ.पी.डी सेवा सञ्चालन गरिने र नेपाल सरकारवाट स्वीकृति प्राप्त हुनासाथ कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिने नर्भिक व्यवस्थापनले जनाएको छ ।

‘झण्डै डेढ दशकपूर्व स्थापित भई सनः २०१२ मा देशकै अत्याधुनिक सुविधासम्पन्न पाचन प्रणाली उपचार केन्द्र (डिडीसी)का रुपमा रुपान्तरीत हुँदै नर्भिकको उक्त केन्द्रले पेट तथा कलेजोका अत्यन्तै जटिल रोगहरुको उपचार गर्दै आइरहेको छ’, नर्भिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
इन्डोेस्कोपीक अल्ट्रासाउण्ड र वेलुन इन्टेरोस्कोपी जस्ता प्रविधिमा अग्रणी यस केन्द्रले इण्डोस्कोपी, कोलोनोस्कोपी तथा पोलीपेक्टोमी इण्डोस्कोपिक अल्ट्रासाउण्ड, इ.आर.सी.पी. इन्टेरेस्कोपी, वेलुन डायलाटेसन जस्ता प्रक्रियाहरु गरी ७५ हजार भन्दा बढी सफल प्रक्रियाहरु गरिसकेको छ भने आर्गन ल्पाज्मा कोगुलेसन जस्ता प्रविधि तत्कालै भित्रिने तयारीमा अस्पताल रहेको जनाइएको छ ।
डि. डी. सी. को विस्तारीत विशिष्ट चिकित्सा सेवा अन्तर्गत बरिष्ठ चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको नेतृत्वमा आरम्भ गरिने कलेजो प्रत्यारोपण सेवा सञ्चालनमा डि.डी.सी प्रमुख डा. सन्दीपराज कुँवर लगायतका पेटरोग विशेषज्ञहरु पनि संलग्न रहने उल्लेख गरिएको छ ।

‘हाल नर्भिक पूर्वाधार निर्माणमा केन्द्रित रहेको, सेवा सञ्चालनका लागि प्रक्रियागत लाइसेन्स लिने कार्यलाई अगाडि बढाएको र थप चिकित्सकीय तथा अन्य मानव संशाधनको तयारीमा जुटेको छ । मानव संशाधन विकासतर्फ कलेजो प्रत्यारोपण विशेषज्ञ शल्य चिकित्सकहरु, कलेजो प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरु (कलेजो रोग विशेषज्ञ/फिजिसियन), कलेजो प्रत्यारोपण विशेषज्ञ रेडियोलोजिष्ट, कलेजो प्रत्यारोपण विशेषज्ञ वाल चिकित्सक र कलेजो प्रत्यारोपण विशेषज्ञ प्याथोलोजिष्ट आदि रहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।

नर्भिकसँग आवद्ध कलेजो प्रत्यारोपणसम्बन्धी तालीमप्राप्त एवं अनुभवी विशेषज्ञ शल्यचिकित्सक÷चिकित्सकहरूमा डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा. अनिषा तिवारी (शल्यचिकित्सक), डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ कलेजोरोग चिकित्सक), डा. बिरेन्द्रकुमार राउत, डा. किरण अधिकारी र डा. बालचन्द्र कार्की (विशेषज्ञ एनेस्थेसियोलोजी÷ क्रिटिकल केयर मेडिसिन), डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिष्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिष्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सीयस डिजिज) लगायत रहेका छन् ।

त्यसरी नै कलेजो प्रत्यारोपण विशेषज्ञ पेडियाट्रिसियनहरुमा डा. अमृत ढुङ्गेल र डा. हेमन्त शर्मा उपलब्ध छन् ।

अत्यधिक एवम् अनियन्त्रित मद्यपान, धुम्रपान, केहि विशेष प्रकारका हेपाटाइटिस आदिका कारण हाल नेपाली जनसंख्याको ठूलै हिस्सा कलेजोको असाध्य रोगबाट ग्रसित हुँदै गएकोले कलेजो फेल हुने, कलेजोको शिरोशिश हुने, कलेजोको क्यान्सर हुनेजस्ता विकराल स्थिति सिर्जना भइरहेको छ । साथै कलेजो फेर्ने प्रक्रियाका लागि अथाहा धनराशी वोक्दै विदेसिनुपर्ने वाध्यता पनि विकराल बन्दै गएको पाइन्छ ।

त्यस्ता समस्याहरुलाई मध्येनजर गर्दै कुनै पनि नेपालीले नेपालमै, अझ आफ्नै घर आँगनमा, सर्वसुलभ एवम् स्तरीय कलेजो प्रत्यारोपण सेवा प्राप्त गर्न सकून् भन्ने अभिप्रायले नर्भिकले कलेजो प्रत्यारोपणजस्तो अत्यन्तै जटिल शल्यक्रियात्मक उपचार सेवा सुरुगर्ने तयारी गरेको उल्लेख गरेको छ । कलेजो प्रत्यारोपणको तयारीस्वरुप नर्भिकले आवश्यक पर्ने चिकित्सकीय टोली तयार पार्ने, आवश्यक पूर्वाधारणमा सुधार गर्ने, अन्य जनशक्तिलाई तालिम दिने जस्ता कार्यको सुरुवात गरिसकेको जनाइएको छ ।