काठमाण्डौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ मा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच शुक्रबार मध्यराति झडप भएको छ । झडपका क्रममा दोहोरो गोली फायरिङ समेत भएको छ ।
भारततर्फ निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच झडप भएको हो । प्रहरीलाई देखेर तस्करले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेर ३ जना गाँजा तस्करलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ६ नं गणका एसपी खेमबहादुर थापाले बताए ।
गाँजासहित विहार राज्यको सुपौल जिल्लाका ६५ वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर रायलाई पक्राउ परेका छन् । तस्करीमा संलग्न अन्य व्यक्ति भने फरार भएको जनाइएको छ ।
नियन्त्रणमा लिइएको गाँजा र तस्करलाई नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको एसपी थापाले बताए ।





प्रतिक्रिया