देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्मचारी समायोजन अन्तरगत उपसचिव समायोजन आजदेखि

देशान्तर

काठमाडौँ । सरकारले समायोजनमा जाने उपसचिवलाई आइतबारबाट समायोजन पत्र दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए ।

उपसचिवले आफ्नो समायोजनपत्र आफैं प्रिन्ट गर्नसक्ने व्यवस्था मिलाइएको छ । उनका अनुसार आइतबार करिब २ हजार जनाले अनलाइनबाट आफ्नो समायोजनपत्र प्रिन्ट गर्न सक्नेछन ।

‘अनलाइन फाराम भर्दाकै पासवर्ड प्रयोग गरेर उपसचिवले अनलाइनबाट समायोजनपत्र निकाल्न सक्ने व्यवस्था मिलाइएको छ’, अधिकारीले देशान्तरसंग भने, ‘समायोजनपत्रका लागि उहाँहरूले मन्त्रालय धाइरहनु पर्दैन ।’

समायोजन पत्रमा संघ, प्रदेश र स्थानीय तहसमेत उल्लेख हुनेछ । संघमा समायोजन भएका उपसचिवलाई सामान्य प्रशासन मन्त्रालयले संघअन्तर्गतका विभिन्न कार्यालयमा खटाउनेछ । प्रदेशमा समायोजन भएकाहरू सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुनेछन ।

स्थानीय तहमा जानेहरूलाई पनि त्यसैअनुसारको व्यवस्था मिलाइएको छ । कर्मचारी समायोजन अध्यादेशमा बाटोको म्यादबाहेक २१ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर नहुने कर्मचारीलाई स्पष्टीकरणको अवसर दिएर बर्खास्त गर्नसक्ने व्यवस्था छ ।

सरकारले विशिष्ट श्रेणी (सचिव) बाट समायोजन सुरु गरेको छ । ५६ सचिवले गत साता मुख्यसचिव लोकदर्शन रेग्मीबाट समायोजनपत्र बुझेका छन ।

मन्त्रालयको समायोजन महाशाखाका प्रमुख सहसचिव केदार पनेरुका अनुसार सहसचिवहरूको समायोजनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अधिकारीका अनुसार प्रशासन सेवाबाहेकका १ सय २ जना सहसचिवलाई प्रदेशका मन्त्रालयमा खटाइनेछ ।