देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापतिले कार्यकर्तालाई न्याय गर्न सक्नुभएनः महामन्त्री कोइराला

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाले आमकार्यकर्तालाई न्याय गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाल प्रेस यूनियन प्युठानले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको बताउँदै वर्तमान नेतृत्वले आम कार्यकर्तालाई न्याय गर्न नसकेको आरोप लगाएका हुन् ।

पार्टीको नेतृत्वका लागि कुन थर कुन जातभन्दा पनि पार्टी भित्र वीपी कोइरालाको विचार बोक्न सक्ने नेतालाई कार्यकर्ताले साथ दिनुपर्नेमा उनले जोड दिए । ‘‘कोइराला परिवारका हामी एकै साथ छौं । तर पार्टीको नेतृत्वको लागि वीपीको रगतभन्दा पनि वीपीको विचार महत्वपूर्ण हो,’’ महामन्त्री कोइरालाले भने, ‘‘कांग्रेसमा वीपीको विचार अगाडि बढाउन सक्ने सवै नेता–कार्यकर्ताले कांग्रेसलाई नेतृत्व दिन सक्छन् ।’’

१४ औं महाधिवेशनमा उम्मेदवारीका बारेमा सोधिएको प्रश्नमा उनले नेता–कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी तय गर्ने बताउदै सभापतिको उम्मेदवार बन्ने संकेत गरे ।

महामन्त्री कोइरालाले सरकारले पृथकतावादी नेता सिके राउतसँग गरेको सम्झौताका बारेमा स्पष्ट पार्न नसकेको बताए । ‘‘सिके राउतसँगको सम्झौताको विषय राष्ट्रिय अखण्डतासँग जोडिएको विषय हो ।

सम्झौतालगत्तै सिके राउतका सर्मथकले स्वतन्त्र मधेस र जनमत संग्रहको नारा लगाएका छन्,’’ उनले भने, ‘‘सरकारले पनि सम्झौताका बारेमा स्पष्टीकरण दिएको छ । तर सरकारले आमजनतालाई चित्त बुझ्ने स्पष्टिकरण दिन सकेको छैन् ।’’

महामन्त्री कोइरालाले वर्तमान सरकार अकर्मण्य बनेको बताए । दुईतिहाइ बहुमतको सरकारले अकर्मण्यतामा अल्झनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो । कोइरालाले मुलुकमा समृद्धि र विकासको गति तीव्र रुपमा अगाडि बढाउनुपर्ने बेलामा सरकार केही गर्नै नसक्ने गरि अल्मलिएको टिप्पणी गरे ।