देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिबाटै अवसरको दुरुपयोग

देशान्तर

काठमाडौँ । नेपालको संविधानमा राष्ट्रपतिलाई राष्ट्र प्रमुखको हैसियत प्रदान गरिएको छ । अर्थात् राष्ट्रपति देशको सर्वोच्च संस्था हो । तर, त्यही सर्वोच्च पदमा आसीन व्यक्तिको व्यवहार र गतिविधि भने एउटा मन्त्री र सांसद्को जस्तो भएपछि राष्ट्रपतिको पदको गरिमामा आँच आएको छ ।

केही दिनअघि राष्ट्रपति विद्या भण्डारी पोखराको एक मन्दिरमा निर्मित ‘लिफ्ट’को उद्घाटन गर्न पुगिन् । मन्त्रीसमेत जान अनकनाउने त्यस्ता सामान्य कार्यक्रममा राज्यकोषबाट लाखौं रुपैयाँ खर्च हुने गरी राष्ट्रपतिको सवारी चल्नु आफैंमा आलोचनायुक्त काम हो ।

राष्ट्रपतिले शीतल निवास छाड्दा राज्यकोषको लाखौं रुपैयाँ खर्च हुने मात्र होइन सर्वसाधारणले समेत सास्ती भोग्नुपर्ने हुन्छ । राष्ट्रपतिको सवारीले हुने सडक जामले सर्वसाधारण आजित भइसकेका छन् । त्यही भएर केही समयअघि राष्ट्रपतिको सवारीका लागि सडकमा रोकिएका सर्वसाधारणले ट्राफिकको निर्देशनलाई अवज्ञा गरे । उक्त अवज्ञाले पनि राष्ट्रपति पदको गरिमामा आँच पुग्ने काम भयो ।

यतिमात्रै होइन, राष्ट्रपति पदमा दोस्रो कार्यकाल बिताइरहेकी विद्यादेवी भण्डारीको विदेश भ्रमण मोहले समेत मुलुकको इज्जत गुम्ने काम भइरहेको छ । आफ्नो राजनीतिक सहयात्री प्रधानमन्त्री भएको अवसर छोपेर राष्ट्रपति भण्डारी विदेश भ्रमणमा निस्कने गरेको प्रतीत हुन्छ । राष्ट्रपतिको विदेश भ्रमणले मुलुकको कूटनीतिक छवि सप्रिने अपेक्षा गरिन्छ । तर भण्डारीको विदेश भ्रमणले नेपालको इज्जत बढ्नेभन्दा घट्ने काम भइरहेको कूटनीतिक विश्लेषकहरू बताउँछन् ।

हालै अमेरिका भ्रमण सकेर राष्ट्रपति स्वदेश फर्किएकी छिन् । तर उनको अमेरिका भ्रमण कुन उद्देश्यका लागि भएको थियो र त्यसले नेपाललाई के फाइदा भयो, सरकारले समेत व्याख्या गर्न सकेको छैन । परराष्ट्र स्रोतका अनुसार मन्त्रीस्तरीय कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी अमेरिका पुगिन् । उनको अमेरिका भ्रमणले मुलुकको गरिमा वृद्धि हुनुको साटो गिरेको कूटनीतिक विश्लेषकहरू बताउँछन् ।

यतिमात्र होइन राष्ट्रपति भण्डारीको अमेरिका भ्रमण विवादितसमेत बनेको छ । अमेरिकामा स्वतन्त्र तिब्बत अभियानमा लागेका एकजना व्यक्तिसँग राष्ट्रपति भण्डारीको भेटघाट र निकटताले छिमेकी मुलुक चीनलाई संशकित बनाउने काम गरेको छ । भ्रमण राष्ट्रपति स्तरको नभएर महिला तथा बालबालिका मन्त्रीस्तरीय रहेको थियो ।

भण्डारी अमेरिका पुगेपछि उनको स्वागतमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की र स्यानडिएगोका लागि वाणिज्यदूत ऋषि पुनाखर ढकाल उपस्थित थिए । राष्ट्रपति भण्डारीलाई जुन खालको सम्मानसाथ स्वदेशमा मोटरकेडमा देख्थे त्यो न्युयोर्कमा देख्न नपाउँदा राष्ट्रपति भण्डारीको मात्र होइन सिंगै नेपालको अपमान भएको महसुस त्यहाँका नेपालीहरूले गरे । राष्ट्रपति भण्डारीको सम्मानमा आयोजित कार्यक्रम अत्यन्तै फितलो र समाजलाई उपेक्षा गरिएको महसुस त्यहाँ रहेका नेपालीहरूले गरे ।

यसैबीच, न्युयोर्कको एक प्रतिष्ठित नेपाली संस्थाको सदस्य भन्दै पासाङ शेर्पालाई राष्ट्रपति बसिरहेको सोफामा पु¥याइयो र राष्ट्रपति भण्डारीलाई खादा पहि¥याउन अवसर दिइयो, त्यसको लगत्तै राष्ट्रपति भण्डारीलाई उठ्न अनुरोध गर्दै उहाँको कुममा जोडिएर शेर्पाले फोटो खिचे । र ती शेर्पा कोही नभएर स्वतन्त्र तिब्बत अभियानका एक सक्रिय अभियन्ता थिए । शेर्पासँग राष्ट्रपतिको भेटघाटले छिमेकी मुलुक चीनलाई चिढ्याउने काम भएको छ । यसमा अमेरिकास्थित नेपाली दूतावासको कमजोरी देखिन्छ ।

भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं अधिवेशनलाई विशेष सम्बोधन गर्न पुगेकी थिइन् । उनले त्यहाँ छिमेकीलगायतका नेपालसँग निकटता भएका मुलुकका प्रतिनिधिहरूसँग भेटघाट गर्ने अपेक्षा गरिएको थियो । तर विडम्बना उनले इस्टोनिया, क्रोएसिया र ट्रिनिडाड एन्ड टोबागोका राष्ट्रपतिसँग भेटघाट गरेर दिन बिताउनु प¥यो । विशेष अतिथि राष्ट्रपति भण्डारीले कूटनीति र विश्व राजनीतिमा पनि विशेष अर्थ राख्ने अन्य मुलुकका विशिष्ट अतिथिसँग भेटवार्ता गर्न सकिनन् ।