देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गर्न प्रहरीद्धारा काभ्रेमा गोली प्रहार

देशान्तर

काठमाडौँ । एनसेल मुख्यालय र बसुन्धरामा बम विस्फोट गराउने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गर्न प्रहरीले काभ्रेमा गोली चलाएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काभ्रेको रोसी गाउँपालिका–२ खहरेपाँगुबाट विप्लव नेतृत्वको माओवादीका २ कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसअघि काठमाडौंमा पक्राउ परेका दुईजना कार्यकर्ताको बयानपछि प्रहरीको टोली काभ्रे पुगेको थियो । विशेष सूचनाका आधारमा पुगेको आफूहरुको टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाएपछि आफूहरुले पनि जवाफी फायरिङ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा प्रहरी टोली काभ्रेको रोसी पुगेको थियो । नख्खुस्थित एनसेल र बसुन्धरामा विस्फोट गराउने कार्यमा संलग्न ४ जनालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विप्लव समूहका कार्यकर्तालाई पछ्याउँदै गएको महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गरेपछि जवाफी कारबाही गरिएको निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिए ।

रातिको समयमा भएको हुँदा त्यहाँ भएका कतिपय कार्यकर्ता भाग्ने मौका पाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति पक्राउ परेका दुईजना कार्यकर्ता बम बनाउने र पड्काउने समूहकै रहेका छन ।

उनीहरुकै योजनामा काठमाडौंसहित विभिन्न स्थानमा बम पड्काइएको थियो । विप्लव समूहको मध्ये ब्यूरोका विशेष कार्यकता पक्राउ गरिएको भए पनि नाम भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।