महिला हिंसा अन्त्यका लागि ठोस उपायहरूको माग राख्दै हिजो एम्नेस्टी इन्टरनेसनल नेपालले २३ हजार २ सय ४७ पत्र गृह मन्त्रालयलाई बुझाएको छ । एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियासहितको एक प्रतिनिधिमण्डलले गृहमन्त्रीका सल्लाहकार विज्ञ सूर्यप्रकाश सुवेदीलाई उक्त पत्रहरू बुझाएको थियो । हरेक वर्ष नोभेम्बर–डिसेम्बरमा एम्नेस्टी इन्टरनेसनलले राइट फर राइट्स अभियान सञ्चालन गर्छ । पत्रहरू एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूले एम्नेस्टी इन्टरनेसनलको सन् २०१८ को २९ नोभेम्बरदेखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्र लेखन कार्यक्रम ‘राइट फर राइट्स’ अभियानका क्रममा संकलन गरेका थिए । यस अभियानका क्रममा एम्नेस्टीले विश्वव्यापी रूपमा आफ्ना समर्थक र सदस्यलाई अन्यायविरुद्ध आवाज उठाउने साहस गर्दा आफ्नो अधिकार हनन भएर प्रताडित भएका व्यक्तिलाई ऐक्यबद्धताको सन्देश पठाउन अनुरोध गर्ने गरेको छ ।
स्थायी सरकारसहितको परिवर्तित राजनीतिक सन्दर्भलाई ध्यान दिँदै एम्नेस्टी इन्टरनेसनलले गृह मन्त्रालयलाई पत्र लेखेको हो । नेपालमा बढ्दो महिला हिंसा र गहिरिँदै गइरहेको दण्डहीनताको डरलाग्दो अवस्थाप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । पत्रहरूमा गृहमन्त्रीलाई महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि शीघ्र प्रभावकारी कदमहरू चाल्न, पीडकहरूलाई कानुनी कारबाही गर्न र बलात्कारको घटनामा उजुरी गर्ने हालका एकवर्षे हदम्यादको प्रावधान हटाई कुनै पनि हदम्याद नराख्ने दिशामा कानुन संशोधनको प्रक्रिया अघि बढाउन पनि माग गरेको छ ।
यस वर्षको विश्वव्यापी पत्रलेखन राइट फर राइट्स २०१८ अभियानका क्रममा एम्नेस्टी इन्टरनेसनल नेपालले विश्वका विभिन्न भागका ६ जना महिला मानवअधिकार रक्षकहरूका लागि अभियान सञ्चालन
गरेको थियो ।





प्रतिक्रिया