काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसइई आजबाट सुरु हुँदै छ । एसइईमा देशभरबाट पौने पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
उनका अनुसार कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । त्यसमध्ये नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्ज्याम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी छन् ।
एसइईमा सहभागी हुनेमा छात्राको संख्या बढी छ ।
२ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्रले परीक्षा दिँदै छन् । अघिल्लो वर्षको तुलनामा एसइई दिने विद्यार्थीको संख्या यस वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम चार लाख ७५ हजार ३ परीक्षार्थी छन् ।
आजको परिक्षामा नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । अभिनेत्री मानन्धर र मुक्त कमैयाबाट सक्रिय राजनीतिमा आएकी चौधरीसँगै मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी आइतबार सुरु एसईईमा सहभागी हुँदैछन् ।
परीक्षार्थीहरू स्कुले उमेर १४ देखि १८ वर्षका मात्रै छैनन्, सेलेब्रिटी, जनप्रतिनिधि र बूढापाका पनि छन । परीक्षा नियन्त्रण कार्यालयसँग एसईई दिने पाको उमेरकाको संख्या भने यकिन छैन ।
मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन्। यही विद्यालयको नियमित विद्यार्थीका रूपमा डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन् ।
खुला विद्यालय प्रणालीमा पढेकी प्रतिनिधिसभा सांसद ३८ वर्षीया चौधरीले सेन्टर मावि तुल्सीपुर केन्द्रबाट जाँच दिँदैछिन् । १८ वर्ष कमलरी बसेकी शान्ताले दाङको महेन्द्र माविमा ८ कक्षामा भर्ना भएर पढ्न थालेकी थिइन् । उनी एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद भएकी हुन् । उनकी १७ वर्षीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन् ।
औपचारिकबाट औपचारिक शिक्षाप्रति नायिका मानन्धर र सांसद चौधरीजस्ता व्यक्तिले देखाएको लगाव प्रेरणादायी प्रसंगका रूपमा लिनुपर्ने शिक्षाविद् औंल्याउँछन्। ’नायिका करिष्मा मानन्धरले कक्षा ८ बाट अध्ययन गर्नुपर्ने, ६० वर्षको पाको व्यक्ति कक्षा १ बाट पढ्नुपर्ने दृष्टान्त छ ।





प्रतिक्रिया