देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन् : प्रधानमन्त्री ओली

देशान्तर

काठमाण्डौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई देश सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताएका छन् ।

नेकपाको प्रदेश नम्बर ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने सपनाको छेउमा पनि पुग्न नसकिने स्पष्ट गरे ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई लक्ष्य गर्दै उनले भने अब पनि बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन् । कम्युनिष्टको बर्को ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानुनबमोजिम नियन्त्रण गर्छ । यसमा पार्टी पङ्क्ति स्पष्ट भए हुन्छ ।

त्यस्तो समूहलाई सरकारले प्रतिबन्ध लगाउन नहुने तर्क राख्ने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लोकतान्त्रिक विचारबाट स्खलित भएको जिकिर गर्दै ओलीले देशबाट पृथकतावादको कुरा र हिंसात्मक राजनीतिको अभ्यास समाप्त भएको जनाए ।

पार्टी एकतापछि तल्लो तहको एकतामा ढिलाइ भएको स्वीकार्दै उनले अब चाँडै त्यसलाई पूरा गरेर अघि बढिने उल्लेख गरे ।

पार्टी एकतापछि हाललाई सामाजिक न्यायसहितको समाजवादको लक्ष्यमा केन्द्रित जनताको जनवाद विचारधारा लिइएको उल्लेख गर्दै पनेकपा अध्यक्ष ओलीले जनतामा भनेर मात्र नभई गरेर देखाउने गरी नेता कार्यकर्ताहरु प्रस्तुत हुन आग्रह गरे ।

केन्द्र, प्रदेश र स्थानीय तहमा विकासको आधार सुरु भएको र यसबीचमा धेरै कानून निर्माण भएकाले केही काम भएन भनी सरकारको आलोचना भएन भनिनुको अर्थ नभएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले कम्युनिष्ट सरकारले आयोजना गरेकाले लगानी सम्मेलन सफल हुँदैन भनेर गरिने टिप्पणी देशको हितविरुद्ध भएको स्पष्ट पारे ।