देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थानीय तह र प्रदेशका लागि लोकसेवा भर्ना छिट्टै गर्ने

देशान्तर

सरकारले प्रदेश र स्थानीय तहमा विभिन्न सेवा समूहका रिक्त पद पत्ता लगाउन सात टोली परिचालन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा स्थानीय तह र प्रदेशका लागि संघीय लोकसेवा आयोगद्वारा भर्ना प्रक्रिया थाल्ने गरी गृहकार्य अघि बढाइएको छ । दुवै तहमा गरेर झन्डै ३२ हजार पद रिक्त छन् तर तत्काल १५ हजारदेखि २० हजारसम्ममा रिक्त दरबन्दीमा पदपूर्ति गर्ने सरकारी तयारी छ ।
हाल अवरुद्ध रहेको लोकसेवाका परीक्षा खुलाउने उद्देश्यका साथ सरकारले रिक्त पदको खोजी थालेको हो । यसअघि कर्मचारी समायोजन हुन नसक्दा र रिक्त दरबन्दीको पहिचान हुन नसक्दा लोकसेवाको परीक्षा अवरुद्ध हुँदै आएको थियो । अब समायोजन प्रक्रिया सकिएकाले रिक्त दरबन्दी पत्ता लगाउन सहज हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।कर्मचारी समायोजन सम्पन्न गरेको सरकारले सहसचिव नेतृत्वमा सातवटा टोली परिचालन गरेको हो । सोही टोलीले पहिचान गरेको रिक्त दरबन्दीमा लोकसेवा आयोगद्वारा पदपूर्ति प्रक्रिया थालिने सरकारी तयारी छ । प्रदेश लोकसेवा आयोग गठन नभएकाले संघीय लोकसेवा आयोगद्वारा नै प्रदेश र स्थानीय तहमा रिक्त दरबन्दीमा पदपूर्ति गरिने भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा रिक्त दरबन्दीमा लोकसेवा आयोगद्वारा भर्ना प्रक्रिया सुचारु गर्नका लागि रिक्त पदको खोजी थालिएको जानकारी दिए । मन्त्रालयमा शुक्रबार भएको बैठकले सहसचिवको नेतृत्वमा रिक्त दरबन्दी पत्ता लगाउन सातवटा टोली परिचालन गर्ने निर्णय गरेको थियो । मन्त्री पण्डितले सहसचिव नेतृत्वको टोलीले पहिचान गरेको रिक्त पद पूर्तिका लागि लोकसेवा आयोगलाई तयारी अवस्थामा रहन आग्रह गरिएको जानकारी दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मात्रै समायोजन प्रक्रिया सम्पन्न भएको घोषणा गरेको थियो । सोही घोषणाअनुसार संघमा ४८ हजार ४०९ दरबन्दीमध्ये ३९ हजार ९६० कर्मचारी समायोजन भएका छन् । यसैगरी, प्रदेशमा २२ हजार २९७ दरबन्दीमध्ये १३ हजार ८२१ जना र स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये ४३ हजार ८०७ कर्मचारी समायोजन भएका छन् ।