देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले गर्ने हावाहुरीमा घाइते भएकाको उपचार

देशान्तर

सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । उनले भने, “घाइते भई अपाङ्गता तथा अशक्त हुने तथा मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्नेछ ।” उक्त घटनामा परेर हालसम्म २७ जनाको मृत्यु हुनुका साथै ६१३ जना घाइते भएका छन् । ठूलोमात्रामा आर्थिक क्षति भएको छ । उक्त दुःखद् घटनामा परी ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अपर्ण गर्दै सरकारले शोक प्रकट गर्ने निर्णय गरेको छ ।
बैठकले प्रभावित शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधिसहितको स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने तथा विपद् प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्ने बैठकले गरेको निर्णय छ ।

प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन सम्बन्धित निकायले थप सतर्कता अपनाउन निर्देशन दिँदै बैठकले त्यसका लागि तत्काल आवश्यक कदम चाल्ने निर्णय समेत गरेको छ ।