देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नर्भिकद्वारा कोलोरेक्टल क्यान्सर जनचेतनामूलक कार्यक्रमको आयोजना

देशान्तर

काठमाडौं । मार्च महिनालाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासयको अर्बुदरोग (क्यान्सर)बारे जनचेतना अभिवृद्धि गर्ने/गराउने महिनाका रुपमा लिइन्छ । यस महिनाभर ठूलो आन्द्रा र मलाशयको क्यान्सरबारे विविध चिकित्सकीय कार्यपत्रहरु प्रस्तुत गरिने, रोग रोकथाम र उपचारबारे जनचेतना फैलाउने आदि कार्य गरिन्छ । यी क्रियाकलापले रोग रोकथाम र रोगको प्रभावकारी उपचारबारे पनि सर्वसाधारणले थाहा पाउन सक्छन् ।

ठूलो आन्द्रा र मलाशयको अर्बुदरोग मानिसलाई हुने अर्बुदरोगहरु मध्ये तेस्रो ठूलो र भयानक रोगमा पर्दछ । विश्व तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यस रोगका १८ लाख नयाँ विरामीहरू देखापर्ने गर्छन् भने तिनमध्ये झण्डै ५० प्रतिशत अर्थात् नौ लाख जतिले ज्यान गुमाउने गर्दछन् । हालैका वर्षहरूमा नेपालमा समेत यस रोगका रोगीहरू प्रशस्तै भेटिन थालेका छन् ।

नर्भिकका कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्यका अनुसार ठूलो आन्द्रा तथा मलाशय (कोलन र रेक्टम)को क्यान्सरबारे आवश्यक जनचेचना सबैमा हुने हो भने, नियमित जाँच/परीक्षण गराउने हो भने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोगलाई सजिलै रोकथाम गर्न सकिन्छ ।

रोटरी क्लब चन्द्रागिरीसँगको सहकार्यमा नर्भिकद्वारा आयोजित एक विशेष चिकित्सा कार्यक्रममा बोल्दै डा. भट्टाचार्यले उक्त तथ्य बताएका हुन् । उपर्युक्त कार्यक्रममा नर्भिकका पेटरोग विशेषज्ञ डा. वरुण शाहले ठूलो आन्द्रा र मलाशयका तमाम रोगहरुको निदानमा कोलोनोस्कोपीको महत्वबारे प्रकाश पारेका थिए ।

रोगको जोखिम कसरी घटाउने ?
यस रोगको जोखिमलाई न्यूनीकरण गर्न निम्न उपायहरूको अवलम्बन गर्न सकिन्छ ।

– ४५ वर्ष पुगेका हरेक व्यक्तिले नियमित रुपमा ठूलो आन्द्रा/मलाशयको क्यान्सरको जाँच/परीक्षण गराउने, किनकी यदि ठूलो आन्द्रा तथा मलाशयका क्यान्सर रोग सुरुकै अवस्थामा पत्ता लगाई उपयुक्त उपचार गर्ने हो भने रोगी मध्ये ८०–९० प्रतिशतलाई रोगमुक्त वा सुरुकै अवस्थामा फर्काउन सकिन्छ ।

– पर्याप्त रेशेदार तथा कम चिल्लोयुक्त सन्तुलित भोजन गर्ने,

– यदी मद्यपान गर्ने बानी भए नियन्त्रित रुपमा अर्थात् ठिक्क मात्रै पिउने बानी गर्ने, ध्रमुपानको बानी भए तुरुन्तै त्याग्ने । मद्यपान र ध्रुमपान सँगसँगै गर्दा ठूलो आन्द्रा र मलाशयका साथसाथै पेटको अन्य भागको समेत क्यान्सर हुने जोखिम बढ्दछ ।

– साताको ३ देखि ४ पटक कम्तिमा २०–३० मिनेट शारीरिक व्यायाम गर्ने । सामान्य शारिरीक व्यामहरूमा छिटो छिटो हिड्डुल गर्ने, करेशाबारी वा बगैचामा काम गर्ने वा भर्याङ उक्लिने जस्ता कार्यहरु गर्न सकिन्छ ।

के यस रोगको उपचार हुनसक्छ ?
ठूलो आन्द्रा र मलाशयका अर्वुदरोगका लक्षणहरु निकै कम मात्रामा मात्रै देखापर्ने हुँदा रोगको नियमित परीक्षण गराउनु अत्यन्तै जरुरी हुन्छ । यस रोगको जाँच/परीक्षण विशेषत दुई कारणले लाभदायक हुनसक्छ ।

– यदि ठूलो आन्द्राका फोकाहरु (Polyps), जसले पछि क्यान्सरको रुप लिन सक्छन्, तिनलाई समयमै पत्ता लगाएर हटाउने,

– यस रोगको उपचार तबमात्र सम्भव हुनसक्छ, जब यसलाई सुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ ।

रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलाशयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुनसक्छ । शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि साथसाथै चलाउनुपर्ने हुन्छ । रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुने गर्दछ । यसले समयमै र नियमित रुपमा गरिने जाँच/परीक्षणको महत्व दर्शाउँदछ । यसका अतिरिक्त चिकित्सा अध्ययनले के देखाएको छ भने ठूलो आन्द्रा तथा मलाशयका विशेषज्ञ शल्यचिकित्सक जो तत्सम्बन्धित रोगहरूको निदानात्मक एवं उपचारात्मक (चिकित्सकीय र शल्यचिकित्सकीय) प्रक्रियामा निपूर्ण हुन्छन्, तिनद्वारा उपचार गराउँदा रोगको व्यवस्थापन सहज रुपमा हुनसक्ने तथा उपचार पश्चात्का जटिलताहरु समेत कम मात्रै देखापर्ने गर्दछन् ।

किनकी तिनीहरूले ठूलो आन्द्रा र मलाशय रोगसम्बन्धी विशेष विशेषज्ञता हासिल त गरेकै हुन्छन्, तिनका अलावा तिनले ठूलो संख्यामा त्यसखाले रोगको शल्यक्रियात्मक उपचार समेत गरेका हुन्छन् ।

कोलोरेक्टल क्यान्सर हुने बढी जोखिम कस्तालाई हुन्छ ?

कुनैपनि व्यक्तिमा ठूलो आन्द्रा/मलाशयको अर्वुदरोग (क्यान्सर) हुने जोखिम उमेरसँगै बढ्दै जान्छ । सबै महिला तथा पुरुष जो ४५ वर्ष कटिसकेका छन्, तिनलाई ठूलो आन्द्रा र मलाशयको अर्वुदरोग हुनसक्ने जोखिम समान रुपमा बढेर जान्छ । तसर्थ उमेर पुगेका हरेक महिला तथा पुरुषले नियमित रुपमा रोग परीक्षण/जाँच गराउनु अत्यावश्यक हुन्छ नै । केही मानिसहरूमा भने ४५ वर्षभन्दा कम उमेरमै पनि रोग लाग्न सक्ने जोखिम अत्याधिक बढी हुने गरेको पाइन्छ । व्यक्तिगत वा पारिवारिक इन्फ्लामेटरी वाउल डिजिज (IFD) को इतिहास भएका व्यक्तिहरु, ठूलो आन्द्रा/मलाशयको अर्वुदरोग वा एयथिउक पहिले भइसकेका व्यक्तिहरु र पाठेघरको, पाठेघरको मुखको र स्तन क्यान्सर भइसकेका महिलाहरु अत्यन्तै ठूलो जोखिममा रहेका हुन्छन् ।

रोग निदान गर्ने वा पत्ता लगाउने हालको विधिमा कोलोनोस्कोपी (मलद्वारबाट क्यामेरासहितको पाइप ठूलो आन्द्रामा पठाई रोगको अवस्था हेरिने विधि), सिग्मोइडोस्कोपी (ठूलो आन्द्राको तल्लो भाग/मलाशय आदिको दृश्य हेरिने विधि), सि.टी कोलोनोग्राफी (ठूलो आन्द्राका ट्युमर तथा Polyps हरु पत्ता लगाउने विधि), डबल कन्ट्राष्ट बेरियम एनिमा एक्स–रे तथा नदेखिने रगत तथा असामान्य DNA पत्ता लगाउन गरिने दिसाको विशेष प्रयोगशाला जाँच/परीक्षण पर्दछन् । हरेक विरामीले आफूलाई कुन कुन जाँच/परीक्षण गर्नु, गराउनुपर्ने हो, कुन जाँच/परीक्षण कहिले, कुन समयमा, कतिपटक उपयुक्त हुने हो सो बारे आफ्ना चिकित्सकसँग गहन छलफल गर्नु श्रेयस्कर हुन्छ ।