काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं आवधिक योजनाबारे छलफल गर्न परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राजधानीको सोल्टी होटलमा सुरु भएको हो ।
प्रधानमन्त्री ओलीले एभोकाडो, रुद्राक्ष र बोधिचित्तको बिरुवामा पानी हालेर बैठक उद्घाटन गरेका थिए । भोलिसम्म चल्ने बैठकमा उपप्रधामन्त्री तथा मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेशका मुख्यमन्त्रीहरु, संघीय संसदका समितिका सभापतिहरु सहभागी हुनेछन् ।
बैठकमा गभर्नर, योजना आयोगका सदस्यहरु, प्रदेश सरकारका योजना हेर्ने निकायहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिलगायत करिब ३ सय ५० जना सहभागी रहेका छन । बैठकमा पन्ध्रौ आवधिक योजनाको मस्यौदाको आधारपत्र माथि छलफल र सुझाव ग्रहण गरी आधारपत्रको अन्तिम स्वरुप दिइनेछ । तयार अन्तिम स्वरुप मन्त्रिपरिषद्मा लगिने आयोगले जनाएको छ ।
आयोगले आगामी २५ वर्षमा समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्या्दित र उच्च जीवनस्तर भएको मुलुकको परिकल्पना गरेको छ । आयोगले वि।सं २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्याउने मार्ग्चित्रसहित सुख र समृद्धिको सिर्जना गर्न पन्ध्रौं पञ्चवर्षीय योजना तयार पारेको हो ।
यो योजनालाई सफल बनाउन आयोगले सातै प्रदेशस्तरमा छलफल चलाएको थियो भने विज्ञ, सामाजिक क्षेत्रका विभिन्न समूह, निजी क्षेत्र, सहकारी तथा सामुदायिक क्षेत्र, विकास साझेदार संस्था, सञ्चार क्षेत्र, नागरिक संगठनहरुसँग पनि योजनाको आधारपत्रको प्रारम्भिक मस्यौदामाथि छलफल गरिएको थियो ।
आयोगले तयार पारेको सोही योजनाको आधारपत्रको मस्यौदालाई अन्तिम रुप दिन राष्ट्रिय योजना आयोग ९गठन तथा कार्यसञ्चालन० आदेश, २०७४ बमोजिम गठित विकास परिषदको बैठक गर्न लागेको जनाएको छ ।
अयोगले तयार पारेको पन्ध्रौं योजना (आव २०७६–७७ देखि २०८०–८१ सम्म) लाई समृद्धि र सुखको सिर्जना गर्ने आधार वर्षको रुपमा व्याख्या गरिएको छ । यसका लागि पाँच वर्षमा समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिस्कृत जीवनसहितको समाजवाद उन्मुख लोकल्याणकारी राज्यको रुपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार तयार पार्ने योजना बनाएको छ ।
यो पाँच वर्षमा सर्वसुलभ, गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण, उत्पादनशील र मर्या्िदत रोजगारी अभिवृद्धि, दीगो र समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण गर्दै समृद्धिको आधार निर्माण गर्ने राष्ट्रिय उद्देश्य राखिएको छ । जसका लागि आयोगले आठ वटा राष्ट्रिय रणनीति तयार पारेको छ । तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धिसँगै उत्पादकत्व बढाउनेसम्मका रणनीति योजना आयोगले तयार पारेको मस्यौदामा उल्लेख छ ।
नेपालको दीर्घकालिन सोचमा आधारित रहेको पन्ध्रौं योजनाले औसतमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । योजनाले सूचना प्रविधिको विस्तारसँगै कृषि, उत्पादनमूलक उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड दिएको छ । यो योजनाले दीगो विकासका लक्ष्यको सामन्जस्यतालाई विशेष ध्यान दिएको छ ।
योजनाले सिमान्त पुँजी उत्पादन अनुपातको विश्लेषण र लगानी प्रक्षेपण गरेको छ भने आर्थिक स्थायित्व र वित्तीय संघीयता कार्यान्वयनलाई विशेष जोड दिएको छ । विकासशिल मुलुकमा स्तरोन्नति हुँदै दीगो विकास लक्ष्य प्राप्ति गर्ने र सोही लक्ष्यको वित्तीय रणनीतिका आधार लिई स्रोत साधनको अनुमान लगाएर निरपेक्ष गरिबी हटाउन रोजगारी सिर्जनालाई विशेष ध्यान दिएको छ





प्रतिक्रिया