देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

योजनाको अधारपत्र स्वीकृत गर्दै राष्ट्रिय विकास परिषद्को बैठक सम्पन्न

देशान्तर

काठमाडौं । दीर्घकालीन सोच सहितको पन्ध्रौं योजनाको आधार पत्रको मस्यौदामाथि राय सुझाव संकलन गर्न बसेको राष्ट्रिय विकास परिषद्को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री एवं राष्ट्रिय विकास परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दुइदिने बैठक सम्पन्न भएको हो ।

बैठकले आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने पन्ध्रौं योजना (२०७६–७७ देखि २०८०(८१) को आधारपत्रको मस्यौदामा सुझाव समावेश गरिएको आधार पत्र स्वीकृत गरेको छ ।

बैठकको समापन गर्दै प्रधानमन्त्री एवं राष्ट्रिय विकास परिषदका अध्यक्ष ओलीले लामो राजनीतिक संक्रमणको अन्त्यपश्चात नेपालको संविधान जारी भएपछिको पहिलो निर्वाचनबाट तीन तहका सरकारको राजनीतिक स्थायित्वको सामथ्र्यमा यो योजना आएको बताउँदै नियमित ढङ्गले आउने पाँच वर्षे योजनाभन्दा परिवर्तनलाई आत्मसाथ गर्ने यस पन्ध्रौं योजनाको विशेष महत्व रहेको बताए ।

यस आवधिक योजनालाई पहिलो संघीय पञ्चवर्षीय योजनाको रुपमा समेत कार्यान्वयन गर्नुपर्ने दावी गर्दै उनले एकीकृत नीतिगत सुधारको मार्ग तय गरी तीब्र विकास र आर्थिक वृद्धिको लक्ष्यमा पुग्नुपर्ने बताए ।

विकासका लागि सुशासन अनिवार्य शर्त रहेको र यसलाई पुरा गर्न सरकार दृढ संकल्पित रहेको उनको दावी छ । समृद्घ नेपाल, सुखी नेपाली को राष्ट्रिय अभियानलाई पुरा गर्न सबैजनाले आ(आफ्नो स्थानबाट सक्रियताकासाथ लागि पर्न उनले अपिल गरे ।

यसअघि बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन गर्न पन्ध्रौं योजनाले सुस्पष्ट र व्यावहारिक मार्ग्चित्र तयार गरेको बताएका थिए ।

उनले देशलाई समृद्धिको बाटोमा लैजान विकासमा सबै नागरिकको सहभागिता र समान योगदानको अपेक्षा गरिएको बताए । प्रधानमन्त्रीले विकासको प्रतिफल वितरणमा सबैलाई सम्मानजनक र समान अवसरको सुनिश्चितता गर्दै समन्यायिक प्रत्याभूति गराउन जरुरी रहेको बताए ।

बैठकमा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टिका अध्यक्ष पुष्पकमल दाहालले देशमा धेरै पटक राजनीतिक परिवर्तन भए पनि यो पटकको परिवर्तन लामो र निरन्तर प्रयासबाट प्राप्त भएको हुँदा अब बन्ने योजनाले संघीयता लोकतान्त्रिक राज्यको मूलभूत मर्मलाई आत्मसात गर्नुपर्ने बताएका थिए ।

उनले जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र त्यसको सुदृढिकरण गर्ने हाम्रो लक्ष्य र उद्देश्यहरु परिलक्षित हुनुपर्ने बताए ।

पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले वस्तुगत र कार्यान्वयन योग्य योजना तर्जुमा गर्न राष्ट्रिय तथ्यांक प्रणालीको महत्व औंल्याउँदै योजनाको कार्यान्वयनमा संलग्न हुने जनशक्तिको क्षमता अभिवृद्धिमा पनि ध्यान जानुपर्ने बताए । उनले आगामी योजनामा कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान वृद्धि गर्ने तर्फ सोचाई राख्नुपर्ने दावी गरे ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले पन्ध्रौं योजनाको मस्यौदा आधारपत्रको संक्षिप्त प्रस्तुत गर्दै मुलुकलाई उच्च आय भएको विकसित र सम्मुन्नत राष्ट्रको रुपमा र्पुयाउने मार्ग्चित्र कार्यान्वयन गर्न पन्ध्रौं योजनालाई आधार योजनाको रुपमा तयार गरिएको बताए ।

उनले आगामी २५ वर्षमा तीव्र विकासको माध्यमबाट समृद्ध र सुखको दीगोपना कायम गर्न सक्ने गरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सोच, गन्तव्य र परिमाणात्मक लक्ष्यहरु तय भएको बताए । उपाध्यक्ष कँडेलले भने, “यस अवधिमा औसत दुई अंकको आर्थिक वृद्धि हासिल गर्दै उच्च आय भएको सम्मुन्नत मुलुकको रुपमा स्थापित भएको हुनेछ ।”

उपाध्यक्षले कँडेलले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्ने गरी सहकारी तथा सामुदायिक क्षेत्रको भूमिकालाई प्रभावकारी, पारदर्शी र सुदृढ बनाउनुपर्ने आवश्यकता दर्शाए ।

वैठकमा मन्तव्य राख्ने क्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकमा विकसित भएको राजनीतिक स्थायित्वले विकासले गति लिनसक्ने सम्भावना देखिएको बताए । अर्थमन्त्रीले चालु चौधौं योजनाको कार्यान्वयन अपेक्षित रुपमा सम्पन्न भएको बताउँदै आगामी योजनामा कृषि र उद्योग क्षेत्रको रुपान्तरणको माध्यमबाट गरिवी निवारण गर्न सकिने सम्भावना औंल्याए ।

उनले नेपालमा सामाजिक पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको भएतापनि भौतिक पूर्वाधारको क्षेत्रमा प्रगति लक्ष्य भन्दा न्युन भएको हुँदा सामाजिक आर्थिक विकासको अतिरिक्त भौतिक पूर्वाधारको विकासमा पनि साधन स्रोतले भ्याएसम्म लगानी गरिने बताए ।