काठमाडौँ । सरकारले प्रहरी परिचालन गरेर आज बुधबार वीर अस्पतालको ओपीडी सेवा खुलाइएको छ । ६ दिनपछि ओपीडी खुलेसँगै उपचार गर्न थालिएको अस्पतालले जनाएको छ । सरकारी चिकित्सकको आन्दोलनका कारण ६ दिनदेखि वीर अस्पतालको ओपीडी बन्द रहेको थियो । देशभरका सरकारी अस्पतालको ओपीडी पनि बन्द नै रहेको छ ।
वीरमा भने आज प्रहरीको सहयोगमा ओपीडी खुलाइएको हो । सरकारी चिकित्सक संघ (गोदान) भने यसमा आपत्ति जनाएको छ । ‘हाम्रो आन्दोलन जारी छ, यस्तो अवस्थामा वार्ता गर्नुको सट्टा प्रहरी लगाएर ओपीडी खोलेकोमा हाम्रो आपत्ति छ,’ गोदानका अध्यक्ष डा.दीपेन्द्र पाण्डेले भनेका छन् ।
वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा ओपीडी सेवा खोलिएको बताए । प्रहरीलाई सुरक्षाका लागि मात्रै परिचालन गरिएको उनको भनाइ छ ।
ओपीडी खुलेसँगै विरामीहरूको उपचार थालिएको छ । ओपीडी खुलेपछि केहिबेर अघिसम्म तीन सयभन्दा बढीले टीकट लिइसकेको निर्देशक सेन्चुरीले बताए । ‘बिरामीको त्यति धेरै चाप छैन । चिकित्सक आन्दोलनमा छन् भन्ने भएर पनि धेरै आएका छैनन् । टाढाटाढाबाट आएका विरामीको उपचार भइरहेको छ,’ उनले भने । यता स्वस्थ्य मन्त्रलायले भने विरामीको चाप बढेकाले बल प्रयोग गरेर ओपीडी खलाएको जनाएको छ ।
वीर अस्पतालको ओपीडीबाट दैनिक एहजार पाँच सयभन्दा बढीले उपचार लिने गरेका छन्। आन्दोलनरत सरकारी चिकित्सकले ओपीडी खोलिएपनि काम नगर्ने बताएका छन् । वार्ताका लागि तयार हुँदहुँदै प्रहरी लगाएर गरेको बलजफ्तीमा काम गर्नेन गोदान अध्यक्ष डा.पाण्डेले बताए । वीर अस्पतालमा एकातिर चिकित्सक आन्दोनलमा छन भने अर्का्तिर प्रहरी परिचालन गरेर विरामीको उपचार गर्न थालिएको छ ।





प्रतिक्रिया