नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको बन्दको दिन बिहीबार पोखराका दुई स्थानमा बम फेला परेका छन् । पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
उक्त बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजा घाइते भएका छन् । बम डिस्पोज गर्ने क्रममा कालिभन्ज्याङ गणका धर्म बहादुर थापा घाइते भएका हुन् ।
घाइते थापाको हातमा चोट लागेको र उपचारका लागि फिस्टेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
यस्तै, पोखरा २९ स्थित सैनिक बस्तीमा सकेट बम फेला परेको इलाका प्रहरी कार्यालय शिशुवाका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए । यता नवलपरासीको देवचुली २ स्थित उद्योग ग्राम क्षेत्रमा बम विष्फोट भएको छ । केहीबेर अघि विस्फोट भएको सो ठाउँ नजिकै उद्योगपति विनोद चौधरीको चौधरी उद्योग सिजी गु्रप सञ्चालनमा छ । प्रवेशद्वार नजिकै रहेको खोल्सामा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन ।
सो बम नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरिएको बन्दलाई लक्षित गरेर गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।





प्रतिक्रिया