देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पीसकोर स्वयंसेवकहरूको २०६औँ समूहद्वारा शपथ ग्रहण

देशान्तर

काठमाडौँ । अमेरिकी संस्था पीसकोरका स्वयंसेवकहरुको २०६ औं समूहका सदस्यहरुले शपथ ग्रहण गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी तथा पीसकोरका नेपाल निर्देशक शेरी रस्सेलबाट ४९ जना पीसकोर स्वयंसेवकले शपथ ग्रहण गराएका हुन् । नेपालमा आफ्नो दुई वर्षीय सेवा सुरु गर्नुपूर्व उनीहरूले शपथ लिएको अमेरिकी दूतावासले जनाएको छ । । नयाँ स्वयंसेवकहरू सन् १९६२ यता नेपालमा आई सेवा पुर्‍याइसकेका ३,८०० भन्दा बढी स्वयंसेवक र विश्‍वभरका अन्य ६५ देशमा सेवारत ७,२०० भन्दा बढी पीसकोर स्वयंसेवकहरूको सूचीमा सामेल भएको जनाइएको छ । कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल प्रमुख अतिथि थिए।

“ग्रामीण क्षेत्रमा परम्परागत रूपमा सीमान्तकृत जनसङ्ख्यासँग कार्यरत पीसकोर स्वयंसेवकका रूपमा तपाईँहरूले अमेरिकाले गर्नसक्ने असल कामका साथै अमेरिकी जनता र हाम्रो संस्कृति तथा मूल्य बारे नेपालीहरूको बुझाइका सम्बन्धमा ठूलो प्रभाव पार्नुहुनेछ,” राजदूत बेरीले भने ।

फेब्रुअरी २०१९ मा नेपाल आइपुगेका ४९ जना पीसकोर स्वयंसेवकले आफ्नो सेवाको तयारीका लागि काभ्रे जिल्लामा ११ हप्‍ते सघन भाषिक, अन्तरसांस्कृतिक तथा प्राविधिक तालिम पुरा गरेको पनि दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारी विद्यालयहरूमा अङ्ग्रेजी भाषा अध्यापन गर्नुका साथै खाद्य सुरक्षा, युवा विकास तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्नका लागि यी स्वयंसेवकहरूलाई प्रदेश नं. ३ देखि ७ सम्मका १० जिल्लामा खटाइएको छ । शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा कृषि मन्त्रालयसँगको समन्वयमा यस्ता परियोजनामा काम गर्दै उनीहरूले नेपाल सरकारको प्राथमिकतामा रहेका कार्यक्रमलाई समेत सहयोग गर्नेछन् । यस पटकका स्वयंसेवकहरूको समूहमा शिक्षा मन्त्रालयको आग्रहमा अङ्ग्रेजी पढाउन आएका स्वयंसेवकहरू समेत समावेश छन् । सन् २००४ यता नेपालमा अङ्ग्रेजी पढाउन आउने पीसकोर स्वयंसेवकहरूको यो पहिलो समूह हो ।

सन् १९६१ मा स्थापना भएदेखि नै पीसकोर विश्‍व शान्ति तथा मित्रताको ध्येयबाट निर्देशित रहेको र उक्त संस्थाले विश्‍वभर विकासलाई अगाडि बढाउने र अन्तरसांस्कृतिक समझदारी निर्माण गर्ने कार्य गरिरहेको बताइइएको छ । आफ्ना स्वयंसेवकहरूले सेवा अविधिमा र तत्पश्‍चात् समेत गरेको काममार्फत पीस कोरले आफ्नो ध्येयलाई अगाडि बढाउने जनाइएको छ ।

अन्य मुलुकहरूलाई आर्थिक सहायता उपलब्ध गराउनुको सट्टा यस संस्थाले त्यहाँ स्वयंसेवकहरू पठाउने गरेको छ । स्थानीय व्यक्ति तथा समुदायसँग बस्दै र काम गर्दै ती स्वयंसेवकहरूले आफ्ना सिप तथा अनुभव बाँड्छन् । यस प्रकारको दैनिक अन्तरक्रियाले उनीहरूलाई पृथक दृष्टिकोण प्रदान गर्नुका साथै स्थानीय समुदायसँग तिनका विकाससम्बन्धी चुनौतीलाई सम्बोधन गर्न र पारस्परिक समझदारीलाई मजबुत बनाउनका लागि साझेदारी गर्ने अवसर दिन्छ । सन् १९६१ यता दुई लाख २० हजारभन्दा बढी स्वयंसेवकले १४० देशमा सेवा पुर्‍याइसकेको विज्ञप्तिमा उल्लेख छ ।