काठमाण्डौ: नेपाल र यूएईबीच श्रम समझदारी गर्ने सहमति जुटेको छ । पुरानो श्रम समझदारीलाई खारेज गर्दै कामदारको सुरक्षाको प्रत्याभूत हुनेगरी नयाँ श्रम समझदारी गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यूएईबाट आएको प्रविधिक टोलीसँग बुधबार र बिहीबार भएको छलफलबाट श्रम समझदारीको अन्तिम मस्यौदामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।
मस्यौदामा नेपालबाट कामदार जाँदा शून्य लागतमा जान पाउने, म्यानपावरको सेवा शुल्क पनि रोजगारदाताले नै व्यहोर्ने, बीमाको व्यवस्थासहित सामाजिक सुरक्षाको पनि ग्यारेण्टी हुने व्यवस्था रहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ । साथै करारपत्र कस्तो हुने भन्ने विषयमा पनि दुई देशबीच सहमति जुटेको छ ।
नयाँ समझदारीमा काममा रहँदाको बीमा र स्वाथ्य बीमा हुने प्रावधान राखिएको छ । कामदारको लापरवाहीका कारणले हुने दुर्घटना बाहेक अरु दुर्घटना काममा रहँदाको बीमाले समेट्ने छ ।
अब दुबै देशको मन्त्रिपरिषद बैठकले समझदारीको मस्यौदालाई पारित गरेपछि औपचारिक हस्ताक्षरका लागि मिति तय गरेर मन्त्री स्तरमा हस्ताक्षर हुनेछ । श्रम समझदारीमा कामदारलाई आर्थिक भार नपर्ने गरी आधारभूत अधिकारका साथै सुरक्षाको सुनिश्चितता गरिने उल्लेख छ ।





प्रतिक्रिया