देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आयोगमा पार्टीको नाम जुधेपछि नयाँ समाजवादी पार्टी समस्यामा

देशान्तर

काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले एकीकरणपछि तयार गरेको समाजवादी पार्टी, नेपाल नाम निर्वाचन आयोगमा जुधेको छ । यो नामको राजनीतिक दल पहिले नै निर्वाचन आयोगमा दर्ता भएको पाइएपछि एउटै नाममा एकभन्दा बढी दल दर्ता नहुने कानुनी व्यवस्थाले समस्या परेको छ ।

आयोगमा विष्णुराज अर्याल अध्यक्ष रहेको समाजवादी पार्टी नेपाल धरै अगाडी दर्ता भएको भेटिएको छ । गत निर्वाचनमा उक्त पार्टीले उम्मेदवारी नदिए पनि कानुनी हैसियतमा भने सम्पूर्ण प्रक्रिया पूरा गरेको दलका रूपमा आयोगमा सूचीकृत छ ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले दुई दल एकीकरण भएको औपचारिक जानकारी आयोगमा नआएपनि त्यो नामको पार्टी पहिलेनै दर्ता भएको बताए । उनले एउटै नामको अर्को पार्टी दर्ता गर्न नमिल्ने र आवश्यक छानबिनपछि मात्रै नाम जुधेर न जुधेको निक्र्योल गर्न सकिने बताए । तर, पार्टी एकभएको घोषणापछि नेताहरु राजेन्द्र श्रेष्ठ, शिवजी यादवलगायत नेताहरू आयोग पुगेर प्रस्तावित नामबारे जानकारी दिएका थिए ।

हाल घोषित नाममा रहेको ’नेपाल’ हटाएर समाजवादी पार्टी राख्ने वा नेपाललाई अगाडि ल्याएर नेपाल समाजवादी पार्टी नाम राख्न सकिने विषयमा नेताहरूबीच छलफल भएको थियो । घोषणाका बेला नसच्याईकनै अन्य पार्टीको नामसँग हुबहु मिल्ने गरी ब्यानर तथा सहमतिपत्रमा नाम समेत लेखिएको थियो ।

राजनीतिक दलहरूले दल एकीकरण गर्दा नाम घोषणापूर्व कानुनी व्यवस्था तथा निर्वाचन आयोगमा दर्ता रहेका नामहरूको सूची नहेर्दा पटक—पटक यस्ता समस्या दोहोरिँदै आएका छन् ।