देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं मलकी महराको कर छली धन्दा

देशान्तर

काठमाडौं । द काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महराको कालो कतुर्त बाहिर आएपछि यसले काठमाडौं मलका व्यापारीबीच तरंग पैदा भएको छ । महराले काठमाडौं मलको चौथो तलाको ४–३२ नम्बरको सटरमा ‘फेसियल हाउस’ सञ्चालन गर्दै आएकी छिन् । काठमाडौं मलभित्र भ्रष्टाचार भएको भनेर उत्पात मच्चाउँदै आएकी महरा आफैले भने ग्राहकहरूलाई प्यान बिल नदिएर साधारण बिल दिएर कर छली गरेको खुलासा त्यसले तरंग पैदा गरेको हो ।

कर छली काण्डमा अध्यक्ष महराको फेसियल हाउसविरुद्ध वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभाग बबरमहलमा उजुरी समेत परेको छ । २०७६ वैशाख २३ गते विभागमा उजुरी परेको हो । विभागको दर्ता नम्बर १६१५ रहेको सो उजुरीलाई विभागले छानविन शुरू गरेको जनाएको छ । उजरी परेपछि अध्यक्ष महराले केही दिनदेखि विभागको चक्कर लगाउन थालेकी छिन् ।

महराको फेसियल हाउसका शाखाहरू चाबहिल, बागबजार, सिटिसी मल, पोखरा र काँकरभिट्टामा रहेको फेसबुक पेजमा उल्लेख छ । ती सबै शाखाहरूमा पनि कर छली हुने गरेको आरोप छ ।

सरकारी निकायमा दर्ता नै नभएको ‘वाच नेपाल’ नामक युट्युब च्यानलको अन्तर्वार्तामा फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर समेत रहेकी अध्यक्ष महराले राज्यलाई कर तिर्ने गरेको दाबी गरेकी छिन् । ‘हामीले त ट्याक्स तिरिरहेका छौँ । राज्यका लागि त ठूलो योगदान गरिरहेका छौँ’, उनले वाच नेपाल नामक अबैधानिक युट्युब च्यानलको अन्तर्वार्ताका क्रममा भनेकी छिन्, ‘हामीले आफ्नो व्यापार बिज्नेश गरेर ट्याक्स तिरिहेका छौँ । फुटपाथे त होइन नि ? मलमा व्यापार गर्छौं ।’

फेसियल हाउसका सञ्चालक एवम् द काठमाडौं मल व्यापार संघका सल्लाहकार उज्जवल बिक्रम शाहले प्रत्येक ठाउँमा प्रमाणसहित मलभित्र भएको भ्रष्टाचारको छानविनको माग गरेको बताएका छन् । महरा र शाहले विभिन्न व्यक्तिहरूको नाम तोकेर चरित्र हत्या गरेका छन् । ती व्यक्तिहरूले यो भिडियो अन्तर्वार्ताकै आधारमा उजुरी दिए भने साइबर क्राइमको मुद्दा लाग्ने सर्वोच्च अदालतमा बसह गर्ने अधिवक्ता जनार्दन बञ्जाडेले बताए ।

सौगात पण्डित र शीतल रिजालले ‘वाच नेपाल’ नामक युट्युब च्यानल चलाउँदै आएका छन् । अन्तार्वर्तामा संघकी अध्यक्ष एवम् फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर महरा र सल्लाहकार शाहले काठमाडौं मलबाट जनसेवा प्रहरी न्युरोडले मासिक दश लाख रुपियाँ घुस लिने गरेको दाबी गरेका छन् । यो भिडियोलाई फेसियल हाउसको फेसबुक पेजबाट बुष्ट समेत गरिएको छ ।

अध्यक्ष महराका गलत गतिविधिहरूका बारेमा समाचार सार्वजनिक गरेपछि बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आठ बुँदे माग अगाडि सारेकी छिन् । उनले संघका तत्कालीन अध्यक्ष समिर उद्धिन सेख, महासचिव प्रकाश थापासहितका व्यक्तिलाई पैसा हिनामिनाको आरोप विज्ञप्तिमा लगाएकी छिन् ।

तर, तत्कालीन अध्यक्ष सेखको कार्यकालमा महरा स्वयं पनि सहकोषाध्यक्ष थिइन् । उनले पनि थुप्रै चेकहरूमा हस्ताक्षर गरेर रकम निकासा गरेकी छिन् । अरुलाई कारबाहीको माग गर्दै आएकी महराले कारबाहीको सूचीबाट आफ्नो नामलाई भने लुकाउने गरेकी छिन् । तत्कालीन महासचिव प्रकाश थापाले अध्यक्ष महराले रिपोर्टर्स क्लवमा बिहीबार गरेको पत्रकार सम्मेलन र आरोपहरूमा कुनै सत्यता नरहेको बताएका छन् ।

‘उहाँले हामीलाई लगाएको आरोपहरूमा कुनै सत्यता छैन । मलको भाडाबापत उठेको रकम सबै कर्मचारी सञ्चय कोषलाई बुझाएका छौँ । कोषले हामीलाई पैसा बुझेको प्रमाण र तत्कालीन कार्यसमितिलाई धन्यावाद दिएको छ’, उनले भने, ‘अध्यक्ष सुष्मा महराज्यूले किन हाम्रो चरित्र हत्या गर्दै आउनुभएको छ । मैले बुझ्न सकेको छैन ।’

अध्यक्ष महराले आफू सभामुख कृष्णबहादुर महराकी ‘बुहारी हुँ’ भनेर मलका व्यापारी, कर्मचारी र प्रहरी प्रशासनलाई धम्की दिँदै आएको पीडित व्यापारीहरूले बताएका छन् ।

तत्कालीन अध्यक्ष सेखलाई दरबारमार्गको होटेल अन्नपूर्णको सुनियोजित बैठकबाट अपदस्थ गरेर अध्यक्ष पद हत्याएकी महराले संघको विधान विपरित कार्यसमिति चलाउँदै आएको आरोप छ । संघको विधानमा एघार जना निर्वाचित र चार जना मनोनीत हुनुपर्ने व्यवस्था छ । महराले विधानलाई लत्याउँदै १५ जनालाई कार्यसमितिको सदस्यमा मनोनीत गरेकी छिन् ।

बिहीबार गरिएको पत्रकार सम्मेलनमा कार्यसमितिको सदस्य अनिता बुढाथोकी र साधारण व्यवसायी अजिता सिटौला मात्रै सहभागी थिए । पत्रकार सम्मेलनमा महराको कार्यसमितिका कुनै पनि पदाधिकारी र सदस्यहरू उपस्थित भएनन् ।