काठमाडौं । लागुऔषध र खोटा चलन (नक्कली नोट कारोबार) मा पटक/पटक पक्राउ परी कैद भुक्तानी गरेका ललितपुर महानगरपालिका–१३ ताल्सिखेलका युनुस अन्सारीले किन नक्कली नोटको कारोबार नछाडेका हुन् ?
विगतमा कारागारभित्रै गोली हानी हत्याको प्रयास हुँदासमेत गैरकानूनी पेशालाई निरन्तरता दिनुमा खास के छ ? आजमात्रै सात करोड बढीको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि उनीमाथि यक्ष प्रश्नहरु खडा भएको छ ।
पाकिस्तानबाट कतारहुँदै नेपाल भित्रिएको दुई हजार दरका सात करोड ६७ लाख ९४ हजार नक्कली भारुसहित पक्राउ परेका छन् । कारोवारमा उनका नातेदारसमेत संलग्न हुने गरेको रहस्य पनि खुलेको छ । विशेष सुराकीको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा तीन पाकिस्तानी नागरिकसहित अन्सारी, उनका गाडीचालक तथा सालो पक्राउ परेका छन् ।
नक्कली भारतीय रुपैयाँ लिन जाँदा विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ पर्नेमा अन्सारीसहित रौतहटको रमौली वैरिया नगरपालिका–१ का सुयल खान र भक्तपुर सूर्यविनायक नगरपालिका–५ बालकोटका सुदन रानाभाट छन् । खान अन्सारीका सालो हुन् भने रानाभाट गाडी चालक ।
दुई सुटकेशमा पैसासँगै नेपाल प्रवेश गर्ने एक महिलासहित तीन पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४९ वर्षका मोहम्मद अख्तर, ६७ वर्षका नासिर उद्दिन र ३९ वर्षीया नाडीया अन्वर छन् । पाकिस्तानी कतार एयरवेजबाट पैसा ल्याउँदै थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए ।
नक्कली नोट चलनमा पटक-पटक संलग्न देखिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए । उनले भने आफूलाई फसाइएको दाबी गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको गतिविधि सङ्कास्पद देखिएपछि प्रहरीले उनीहरुलाई निगरानीमा लिएको थियो ।
त्यही बेला अन्सारी सहितको टोली आएपछि विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको क्षेत्रीले बताए । “यो एक व्यक्तिले गरेको होइन, यो सङ्गठनको रुपमा गरेको हुनुपर्छ, विस्तृत थप अनुन्धानबाट थाहा हुन्छ, उनीहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा केलाउने र उनीहरु कहाँ कहाँ गए त्यसको पाटोपनि अनुसन्धानमा छ,” थापाले भने । प्रहरी स्रोतकाअनुसार उनले माग गरेकोभन्दा बढी रकम आएको छ ।
थापाले थपे, “युनुस अन्सारी भनेको नेपाल प्रहरीको हरेक समय निगरानीमै रहेको मान्छे हो, भन्ने कुरा जानकारी गराउन चाहान्छु ।” यसको मतलब विगतदेखिकै प्रहरीको निगरानीको प्रतिफल हो आज करोडौँ भारुसहित पक्राउपर्नु ।





प्रतिक्रिया