काठमाडौँ । सिमकोटदेखि आठ कोस टाढा पर्ने खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए। असार २ गते भएको सो दुर्घटनामा परी बेपत्ता भएकाहरू तीन दिनसम्म पनि पत्ता नलागेपछि बिहीबार आफन्तले पराल र कुसको पुत्ला बनाई हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरेका छन्। काठमाडौं थानकोटका राजु श्रेष्ठ र उनका साथी नाम नखुलेका एकजनाबाहेक नौ जनाको अन्त्येष्टि गरिएको हो।
बेपत्ता भएकाहरू नभेटिए पनि घटनास्थलभन्दा तीन किलोमिटर तल बोक्चुगौंडानजिकै खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला र चार किलोमिटर तल कारङ खोलामा जिप चालक मणि शाहीको पाइन्ट, जुत्ता र माक्स भेटिएको छ। बेपत्ताको खोजीका लागि काठमाडौंको गोताखोर टोली हुम्ला पुगेको छ। गोताखोरले पनि कर्णाली नदीमा केही नभेटेपछि बेपत्ता भएकाहरूका आफन्तले पराल र कुसको पुत्ला बनाई अन्त्येष्टि गरेका थिए।उपाध्यक्ष सिन्धु हमाल शाहीसहित जिप चालक सिमकोट–८ याङगुका मणि शाही, यात्रुहरू खार्पुनाथ–५ याङचुका बसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनारको खार्पु त्रिवेणीमा, खार्पुनाथ–१ पिउसकी कौरा दमाई र उनका दुई वर्षीय छोराको बेकचेगौडामा र खार्पुनाथ–४ छिप्राका चन्द्र हमाल र नल्नाका नैनसिंह भण्डारीको छिप्राको दुवाडीचौरमा अन्त्येष्टि गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए।





प्रतिक्रिया