देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतबाट भित्रने तरकारी र फलफूलमा कडाइ, ४० ट्रक भन्सारमै राेकिए

देशान्तर

बाँके । नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ वटा ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५ भन्दा बढी ट्रक रोकिएका नेपालगञ्जका व्यवसायीहरूले बताएका छन् ।

भारतबाट तरकारी र फलफूल बोकेर नेपाल भित्रिँदै गरेका ट्रक सीमामै रोकिएका नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिनुभयो । उहाँले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्रअनुसार भारतबाट नेपाल प्रवेश गर्दै गरेका मालवाहक ट्रक रोकिएको बताए ।

उाले भने, ‘विषादी परीक्षण नगरेका ट्रकहरूलाई नेपाल प्रवेशमा रोक लगाउनु भन्ने परिपत्र आएको छ । परिपत्र आएलगत्तै हामीले ती ट्रकको जाँच पास दिएका छैनौँ ।’ उनले विषादी परीक्षणका लागि तरकारी तथा फलफूलको नमूना सङ्कलन गरेर नेपालगञ्जस्थित विषादी अन्वेषण द्रुत विश्लेषण एकाइ कार्यालय बाँकेमा पठाइएको जानकारी दिए ।

प्रमुख निरौलाले भने, ‘विषादी छ/छैन भन्नेबारे परीक्षणपछि मात्रै थाहा हुने र सोही आधारमा ट्रकहरूलाई जाँच पास दिन्छौँ । विषादीयुक्त पाइएमा ट्रक फिर्ता पठाइदिन्छौँ ।’ विगतमा तरकारी र फलफूल बोकेका गाडी बिना रोकटोक नेपाल भित्रन्थे । अब भने परीक्षण गराएर मात्रै जाँच पास दिने उनले बताए ।

विषादीयुक्त तरकारी खान बाध्य उपभोक्ताहरूका लागि विभागले गरेको निर्णय स्वागतयोग्य रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

दुई दिन मात्रै तरकारी र फलफूल बोकेका ट्रक नेपाल नभित्रिएपछि नेपालगञ्जमा तरकारीको भाउ बढ्न थालेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा भाउ बढ्न थालेको हो । दैनिक ८० टनभन्दा बढी तरकारी बिक्री हुने नेपालगञ्जको राति तलाउमा धेरैजसो तरकारी भारतबाटै आयात हुन्छ । आयात रोकिएपछि व्यवसायीहरूले भाउ बढाउन थालेका छन् ।

रोग, किरा तथा चराचुरुङ्गीबाट तरकारी बालीलाई जोगाउन विषादी प्रयोग गर्नुपर्ने भए पनि कतिपय तरकारी उत्पादकले थोरै समयमा धेरै नाफा कमाउन र उत्पादन वृद्धिका लागि हानिकारक विषादीसमेत प्रयोग गर्ने गरेका छन् । विषादी हालेको कम्तीमा तीन सातापछि तरकारी, फल वा खाद्यान्न उपभोग गर्दा विषादीका कारण मानव स्वास्थ्यमा हुन सक्ने जोखिम कम गर्न सकिन्छ ।