काठमाडौँ । भारतको मुम्बईका एक भारतीयलाई ठगेको आरोपमा एक नेपाली युवती काठमाडौंमा पक्राउ परेको भारतीय पत्रिका बिजनेश स्ट्याण्डर्डको अनलाइन संस्करणमा जनाइएको छ । सो प्रकरणमा पक्राउ पर्नेमा नेपालको महोत्तरी जिल्लाकी एक २१ वर्षीया युवती भएको समाचारमा जनाइएको छ । ती युवतीले फेसबुकबाट साथी बनेर एक भारतीयसँग २३ लाख रुपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेकी हुन् ।
यसरी ठगिएका भनिएका भारतीयको नाम श्रीपाल जैन बताइएको छ । उनी भारतको महाराष्ट्रका ३८ वर्षीय व्यक्ति हुन् । जैनसँग नेपाली युवती फेसबुकबाट साथी बनेको र नेपालको धनी परिवारको सदस्य भएको दाबी गरेको काठमाडौंको महानगरीय प्रहरीलाई उद्धृत गर्दै सो समाचारमा जनाइएको छ । त्यसपछि ती महिलाले आफूले पारिवारिक व्यापार जैनलाई हस्तान्तरण गर्न चाहेको र बिजनेश योजना बारेमा छलफल गर्न नेपालमा बोलाएको बताइएको छ ।
उनका बाबुले पठाएको सामानको भन्सार क्लियरेन्सका लागि भन्दै ती युवतीले जैनसँग २३ लाख रुपैयाँ मागेकी थिइन् । सो रकम लिएर उनी बेपत्ता भएपछि जैनले प्रहरीमा उजुरी हालेका थिए । सोही उजुरीपछि प्रहरीले ती युवतीको काठमाडौंमा भएको भाडाको कोठामा छापा मारेको थियो । प्रहरीले करिब २० लाख रुपैयाँ नगद र केही कागजात फेला पारेको जनाइएको छ ।





प्रतिक्रिया