काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीवीच द्धोन्द नित्याउने गरि विधेयक तयार गरको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षेत्रमा विवाद आउनेगरी सशस्त्र प्रहरी ऐन मस्यौदा तयार गरेको छ ।
सशस्त्र प्रहरी बलको गठन, सेवा सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सशस्त्रलाई पक्राउ पुर्जी जारी, पक्राउ, खानतलासी र मुचुल्का गर्न पाउने अधिकार प्रस्ताव गरिएका कारण विवाद आउने देखिएको छ ।
नेपाल प्रहरीले मात्रै गर्दै आएको यी अधिकार सशस्त्रलाई यसअघि दिइएको छैन । अव सशस्त्रलाई यी काम गर्ने अधिकार दिएमा दुई सुरक्षा निकायबीच स्वतः कार्यक्षेत्रबारे विवाद आउनेछ । प्रस्तावित विधेयकको दफा १३ मा उल्लिखित सशस्त्र प्रहरीको कर्तव्य र अधिकार शीर्षकमा राखिएको प्रावधानमा यसअघि नेपाल प्रहरीले प्रयोग गर्दै आएका अधिकारलाई समावेश गरिएको छ ।
प्रस्तावित मस्यौदाको दफा १३ (२) मा सशस्त्र प्रहरीलाई खबर संकलन गर्ने अधिकार दिइएको छ भने उपदफा ३ मा खबर संकलनका लागि सादा पोसाकमा सशस्त्र प्रहर्री खटाउन सक्ने प्रावधान छ। त्यस्तै दफा ५ मा उल्लिखित ‘पक्राउको सूचना दिएर अभिलेख राखी भर्पाई गर्ने’ भनी थपिएको अधिकार क्षेत्र पनि नेपाल प्रहरीसँग मिल्न गएकाले विवादित हुने भएको छ ।
यो व्यवस्थाले सशस्त्र प्रहरीलाई अपराध अनुसन्धानका लागि जाहेरी लिने, जोकोहीलाई पक्राउ पुर्जी जारी गर्ने, पक्राउ गर्ने, आफ्नै हिरासत सञ्चालन गर्ने र अनुसन्धानका लागि थुनुवा पुर्जी दिएर हिरासतमा राख्ने अख्तियारीसमेत प्राप्त हुनेछ ।
दफा १३ कै उपदफा (६) मा ड्युटीमा खटिएको सशस्त्र प्रहरी कर्मचारीले शंकास्पद घर, ठाउँ वा सवारीसाधनको खानतलासी र बरामद तथा पक्राउलगायतका कार्य गरी मुचुल्कालगायतका कानुनी कागजात तयार गर्दा र पक्राउको सूचना दिँदा प्रचलित कानुनमा तोकिएबमोजिमको कार्य्विधि र अधिकार प्रयोग गर्नेछ भन्ने उल्लेख गरेर नेपाल प्रहरीको समानान्तर कार्य गर्ने अधिकार प्रत्यायोजन गर्न खोजेको छ ।
यसअघि सशस्त्रलाई कुनै व्यक्तिमाथि शंका लागेमा वा कुनै शंकास्पद स्थान र सवारीको खानतलासी र पक्राउ गर्ने अधिकार भए पनि पक्राउ पुर्जी दिने र मुचुल्का गर्ने अधिकार थिएन । सशस्त्र प्रहरीलाई यो अधिकार दिने विषय गलत भएको सुरक्षा विज्ञहरुले बताएका छन् ।
यसअघि २०७१ सालमा सशस्त्र प्रहरी नियमावली मन्त्रिपरिषद्बाट पारित हुँदा गृह मन्त्रालयमातहतका यी दुवै संगठनको सम्बन्ध तल्लो तहसम्म बिग्रिएको थियो । दुवै संगठनका प्रमुखबीच औपचारिक–अनौपचारिक दुवै सम्बन्ध चिसिएको थियो ।
दुवै संगठनबीच चिसोपना बढ्दै गएकाले उति बेला कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा सशस्त्रले नेपाल प्रहरीलाई असहयोग गरेका कारण क्षति भएको तर्क नेपाल प्रहरीले गर्दै आएको छ ।
त्यति बेला पक्राउ पुर्जीको व्यापक विरोध भएपछि सशस्त्र प्रहरीले त्यसलाई कार्यान्वयनमा ल्याएको थिएन। नेपाल प्रहरीको मूलभूत जिम्मेवारी अपराध अनुसन्धानको काम सशस्त्र प्रहरीलाई दिइँदा प्रहरी संगठनको औचित्य सकिने प्रहरी अधिकारीहरू बताउँछन ।





प्रतिक्रिया