विपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ छब्बीस किलोमा आज बिहान उइनर दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। गम्भीर घाइते दुई जनालाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ।
गम्भीर घाइते कमलामाई नगरपालिका ४ का समुन्द्र श्रेष्ठकी ३४ वर्षीया श्रीमती सैलिना श्रेष्ठ र उनको ८ वर्षीय छोरा युवन श्रेष्ठलाई सिन्धुली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि सिम्रिकएयरको नाईनएन एएनवीको हेलिकप्टरमार्फत काठमाण्डौं पठाइएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहका अनुसार सिन्धुलीबाट काठमाण्डौं गईरहेको ना १ ज ५३०१ नम्बरको विजय किल्ला यातायातको उइनर ब्रेक फेल भई दुर्घटना भएको हो।
दुर्घटनामा कमलामाई नगरपालिका ३ का २५ वर्षीय नबराज बम्जन, सोही ठाउँकी ४० वर्षीया खिलमायाँ गुरुङ, कमलामाई नगरपालिका ७ माझीटारकी २९ वर्षीया संगिता तामाङ, ५५ वर्षीया देवकी बस्नेत र कमलामाई नगरपालिका ६ का ५६ वर्षीय भोजराज भण्डारी घाइते भएका छन्।
यस्तै कमलामाई नगरपालिका ४ ढकालगाउँका ५६ वर्षीया सुकमायाँ विसंख्य र सर्लाही जिल्ला घर भई हाल सिन्धुली बस्दै आएका ६२ वर्षीय सुरेश साह घाइते भएका छन्। उनीहरुलाई सिन्धुली र खुर्कोटका अस्पतालहरुका साथै काठमाण्डौं उपचारका लागि पठाइएको सिंहले बताए। ब्रेक फेल भएपछि उक्त गाडी नालामा पल्टिएको थियो। दुर्घटनापछि उक्त गाडीका चालकलाई प्रहरी चौकी गडीले नियन्त्रणमा लिएको छ।





प्रतिक्रिया