काठमाडौैं । नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी भूमिकामा रहेको नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गतको दोस्रो चरणलाई भदौ २४ गतेबाट सुरु गर्दैछ । एक महिनासम्म चलेको पहिलो चरणको जागरण अभियानपछि दोस्रो र तेस्रो चरणको अभियानलाई थप प्रभावकारी बनाउन कांग्रेसले पहिलो चरणको अभियानको समीक्षा गरिरहेको छ ।
बीपी स्मृति दिवसदेखि २४ गते बीपी जयन्तीसम्म प्रादेशिक स्तरीय कार्यक्रम गर्ने र पुस ७ गतेदेखि १६ गते मेलमिलाप दिवससम्म स्थानीय स्तरमा जागरण अभियान सञ्चालन गर्ने केन्द्रीय कार्य समितिले तय गरेको हो । कांग्रेसको गुमेको गौरवमय इतिहास, जिम्मेवारी र भविष्यको राजनीतिक बाटो तय गर्न जागरण अभियान महत्वपूर्ण हुने ठहर छ । राष्ट्रिय जागरण अभियानको मुख्य उद्देश्य कांग्रेस विगतका सार्थक कार्यहरूको सकारात्मक प्रचारप्रसार, विगतका कमी, कमजोरीको आत्मआलोचना र सुधारका लागि भएको नेताहरूको भनाइ छ ।
लोकतान्त्रिक प्रक्रियामा सामेल भए पनि असल लोकतन्त्रिक राजनीति चरित्रको विद्रोहको रूपमा आएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको अधिनायकवादी शैलीलाई कांग्रेसले मूल मुद्दाका रूपमा उठाउने भएको छ । हिमाल, पहाड, तराई, मधेस नेपाली कांग्रेस, राष्ट्रिय जागरण अभियान नेपाली कांग्रेसका आमकार्यकर्तालाई एकत्रित गर्नु पनि हो । भदौ २४ देखिको कांग्रेस जागरण अभियान पनि यसैमा केन्द्रित हुने नेताहरूको भनाइ छ ।
आगामी भदौ २४ गते जननायक बीपी कोइरालाको १०६ औं जन्मजयन्ती हो । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०६ औं जन्मजयन्तीका दिनबाट सुरु हुने जागरण अभियानलाई कांग्रेसले वैचारिक रूपमा पनि अगाडडि बढाउने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको १९७१ साल भदौ २४ गते जन्म भएको थियो ।
जहानियाँ राणाशासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय भए ।
भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशमशेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।
क्रान्तिको सफलतापछि मोहनशमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।
प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी जग्गा जोत्नेको हुनुपर्छ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए । विसं २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो ।
क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भयो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका तीन घुम्ती मोदी आइन, हिटलर र यहुदीलगायतका उपन्यास प्रकाशित भएका छन् । यिनै नेताको जन्मजयन्ती पारेर दोस्रो चरणको अभियान सञ्चालन गर्न लागिएको हो ।
नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । २०७६ सालभरि तीन चरणमा जागरण अभियान गर्ने पार्टीको निर्णयअनुसार पहिलो चरणका कार्यक्रमको समीक्षा गर्दै दोस्रो र तेस्रो चरणका अभियानहरू थप प्रभावकारी बनाउने गृहकार्य कांग्रेसले गरिरहेको छ । राष्ट्रिय जागरण अभियानको क्रममा नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गरिनेछ । राष्ट्रव्यापी रूपमा पार्टी पंक्तिमा एकता, समन्वय र पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्ने लक्ष्य कांग्रेसको छ ।
नेतृत्वमा विगतमा हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएको काम, नागरिक पंक्तिमा व्यापक ढंगले सम्प्रेषित गर्नेदेखि वर्तमान सरकारका अनेक भ्रष्टाचारलगायत विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले जागरण गराउने तयारी पनि भएको छ । तराई, मधेसलगायत मुलुकको कतिपय भूभागमा रहेका असन्तुष्टिहरूको समाधान, विगतमा नेपाली कांग्रेसको सरकारले अगाडि बढाएको संविधान संशोधनको प्रस्तावलाई आम नागरिका बीचमा प्रष्ट्याउँदै त्यसका लागि आवश्यक जनमत र वातावरण निर्माण गर्नेगरी कांग्रेसले योजना तयार गरेको छ ।
कम्युनिस्ट पार्टीको सरकार बनेपछि कूटनीतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, बौद्धिक समुदायप्रतिको अबौद्धिक टिप्पणीहरू र कतिपय अपमानजनक घटनालाई पनि बीपी जयन्तीबाट सुरु हुने जागरण अभियानको कार्यक्रमले प्रस्ट पार्ने नेताहरूले बताएका छन् ।





प्रतिक्रिया