देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लिबिया आक्रमणमा परी नेपाली सन्तोष श्रेष्ठको मृत्यु

देशान्तर

काठमाडाैँ । लिबियाको राजधानी त्रिपोली नजिकै एउटा थुनुवा केन्द्रमा गरिएको बम बिस्फोटमा परी एक नेपालीको मृत्यु भएको छ ।मंगलबार राती भएको बिस्फोटमा २७ वर्षीय सन्तोष श्रेष्ठको ज्यान गएको हो । यसबारे इजिप्टको कारयोमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

श्रेष्ठ युरोपेली मुलुक इटालीका लागि हिँडेको तर  मानव तस्करको चङ्गुलमा परेर युद्धग्रस्त अफ्रिकी देश लिबियामा पुगेको बताइएको छ । आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ ।

यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको उक्त दूतावासले बताएको छ ।त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो ।

यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले आज एक विज्ञप्ति जारी गरेर बताएको छ ।त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ ।

४० जनाभन्दा बढी आप्रवासीको ज्यान जाने गरी गरिएको हमला युद्ध अपराध हुनसक्ने राष्ट्रसंघका एक अधिकारीले बताएका छन् ।घटनामा एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् । ६ सयजना आप्रवासी बस्दै आएको तजौरा थुनुवा केन्द्र आक्रमणमा परेको हो ।

थुनुवा केन्द्रलाई सरकारी पक्षबाट घेरा हालिएको जनरल हफ्तारको फौजले आरोप लगाएका छन् ।लिबियाली स्वास्थ्य मन्त्रालयका एक अधिकारी डा. खालिद बिन आतियाले हमलापछि शवहरु छरिएको देखिएको बताए । उनले भने, ‘हमलापछि बिजुली गयो । हामीले राम्ररी हेर्न सकिरहेका थिएनौं तर एम्बुलेन्स आएपछि स्थिती भयावह देखियो, यत्रतत्र रगत देखिन्थ्यो । केही शवहरु टुक्रा–टुक्रा भएका थिए ।’