देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अझै भेटिएनन् माईखोलामा बेपत्ता तीन छात्रा, खोजी कार्य जारी

देशान्तर

इलाम । माईखेलामा गत शनिबार बिहानदेखि बेपत्ता माई नगरपालिका–१ जुवालेका तीन जना छात्रा अझै भेटिएका छैनन्। बेपत्ता भएको दुई दिनपछि स्थानीयको सहयोगमा प्रहरीको बिपत व्यवस्थापन टोलीले खोजी कार्य अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीको नेतृत्वमा विशेषज्ञसहित खटिएको २६ जनाको टोलीले खोजी कार्य जारी राखेका छन्।

बेपत्ता छात्राहरु माई नगरपालिका–६ गोतामेटारको भगवती माध्यमिक विधालयबाट परीक्षा दिएर बर्खे बिदामा घर फर्केका थिए। बेपत्ता हुनेमा माई नगरपालिका–१ का पदमबहादुर लिम्बुकी छोरी १५ वर्षीया आकृति, टेकबहादुर सुनुवारकी छोरी १४ वर्षीया निशा र नरबहादुर साउदेन लिम्बुकी छोरी १२ वर्षीया छोरी सुनिता रहेका छन्। उनीहरु माईखोला तर्ने क्रममा बेपत्ता भएका थिए। उनीहरुसँगै खोला तरेका अन्य तीन जना छात्रहरु भने पौडिएर निस्किएका थिए। बेपत्ता छात्राहरुको माई नगरपालिका–१ को चण्डालघाटबाट खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल इलामका डिएसपी हरि थापाले जानकारी दिए।

टोलीमा सशस्त्र प्रहरी १ नम्बर बाहिनी इटहरीका नौ जना र नेपाल प्रहरीका एक जना स्पेशल टोलीको रहेको बताइएको छ। उनीहरुले र्‍याफ्टिङ प्रयोग गरी खोजी गरिरहेका छन्। स्थानीय प्रहरी, संघसंस्था, बासिन्दा र युवाहरुले समेत ट्युबको माध्यमबाट तथा खोला किनारमा खोजी गरिरहेको लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज बिमलकुमार निरौलाले जानकारी दिए।