देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत गरियो उद्धार

देशान्तर

बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ । जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १२ जनाको नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभयो ।

दुर्घटनामा परी घाइते हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका–६ का २८ वर्षीय उभजङ्गबहादुर शाही, सोही ठाउँ बस्ने १७ वर्षीय राजेन्द्रबहादुर शाही र १८ वर्षीय मेहन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभएको छ ।

यसैगरी बाजुराको हिमाली गाउँपालिका–४ रुगिनको फैती बस्ने ५५ वर्षीय लालवीर चदाराको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा हेलिकप्टरमा लगिएको प्रहरी नायब उपरीक्षक भाटले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचारका लागि सङ्घीय गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिका–४ का २६ वर्षीय जीप चालक रमेश बोगटी र मुगुको खत्याड गाउँपालिका–६ का २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।