देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जासुसी पेन क्यामरा भेटियो कारागारभित्र

देशान्तर

जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ। ६ महिनाअघिको विषयलाई लिएर कैदीहरूबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो। जेलमा बसेकामध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धी दृश्य रेकर्ड गरी बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेलर राजेन्द्रबहादुर बोहराले शुक्रबार पत्रकार समेलनमा जानकारी गराए।

जबरर्जस्ती करणीको आरोपमा अदालतले थापालाई दोषी ठह¥याएको छ। उनी २०७५ मंसिर २५ गते बर्दिया जिल्लाबाट सरुवा भएर बझाङ कारागारमा आएका हुन्। कागारभित्र कैदीले मदिरा र चरेससमेत सेवन गर्ने गरेको सन्दर्भबारे उठाइएको प्रश्नको जवाफ दिँदै जेलर बोहराले भने, ‘घटना ६ महिनापहिलेको हो, त्यतिबेलाका नाइके चौकीदार र सुरक्षाकर्मीको कमजोरीका कारण यस्तो घटना भएको हो। अहिले तिनीहरू जेलमुक्त भइसकेका छन्। प्रहरी इन्चार्ज गणेश विकलगायत १५ सुरक्षाकर्मीलाई एकैपटक कारबाहीस्वरूप सरुवा गरिसकेका छौं।’

अहिले जेलभित्र कुनै किसिमको गलत क्रियाकलाप हुने नगरेको बोहराको भनाइ छ। ‘मैले ड्युटी र सुरक्षाबारे प्रहरी इन्चार्जसँग कुरा गर्ने हो, सिपाहीसँग होइन। उनीहरूले के गरे भन्ने त देखि नै सकियो। विश्वास गर्नु मेरो कम्जोरी भयो,’ उनले भने, ‘प्रहरीले हरेक कुरामा निगरानी नराखेका कारण जेलभित्र भिडियो रेर्कड गर्ने जासुसी पेन क्यामरा भेटियो।’ ६ महिना पहिलेको कुरा सार्वजनिक भएपछि कैदीकैदीबीच विवाद बढ्दै जाँदा पेन क्यामराबारे हल्ला चलेपछि चेकजाँच गरिएको र पेन क्यामरा भेटिएको उनले स्पष्ट पारे।